
आईसिसि यु १९ विश्वकप क्रिकेट अन्तर्गतको सातौँ स्थानका लागि विहीवार भएको खेलमा एसोसिएट टोली नामिवियासगं नेपाल पराजित भएको छ । पराजयसँगै आगामी विश्वकपका लागि सोझै छनौट हुने अवसर पनि गुमाएको छ । विहीबार सातौ स्थानका लागि भएको खेलमा नेपाल नामिवियासगं १५ रनले पराजित भएको हो । बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मन अली रंगशालामा टस जितेर ब्याटिङ गरेको नामिवियाले निर्धारित ४५ ओभर खेल्दै नौ विकेटको क्षतिमा दुई सय २५ रनको योगफल तयार पारेको थियो । नामिवियाको लागि लोहन लौरेन्सले अविजित ५९ रन बनाए । बलिङतर्फ नेपालका सन्दिप लामिछानेले तीन विकेट लिदा सुशिल कँडेलले दुई विकेट लिए । यस्तै सुनिल धमला र प्रेम तामाङले समान एक एक विकेट लिए ।
दुई सय २६ रनको लक्ष्य पछ्याउदै ब्याटिङ गरेको नेपालले चार बल बाँकी छँदा अल आउट हुदै मात्र दुई सय १५ रन बनायो । नेपालका लागि सुनिल धमलाले अर्धशतकीय पारी खेले पनि जितका लाग पर्याप्त बनेन । नेपालका लागि योगेन्द्र सिंह कार्कीले ३५, प्रेम तामाङले ३, दीपेन्द्र सिंह एैरीले ३१ र आरीफ सैकले ३० रन बनाएका थिए । आजको खेलमा जित निकालेको नामिविया सन् २०१८ मा न्यूजिल्याण्डमा आयोजना हुने विश्वकपको लागि सोझै छनौट भएको छ भने नेपालले विश्वकपको लागि छनौट चरण खेल्नुपर्नेछ ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले विश्वकपको शीर्ष स्थानमा रहने एसोसिएट टोलीलाई सन् २०१८ मा न्युजिल्याण्डमा आयोजना हुने विश्वकपमा सीधै छनोट गर्ने निर्णय अघिल्लो साता मात्र गरेको थियो । जारी यु १९ विश्वकपमा एसोसिएट राष्ट्रका रुपमा दुईटोली मात्र क्वाटरफाइनलमा प्रवेश गरेका थिए ।