२८ माघ २०७२, बिहीबार

पर्वत,पाँच वर्षअघि परीक्षणका रुपमा सञ्चालन गरिएका यहाँका होमस्टे अहिले मुलुकभरिका विभिन्न सङ्घसंस्थाका लागि अध्ययन केन्द्र बनेका छन् ।
सरकारले ग्रामीण पर्यटनको विकासका लागि स्थानीय सुशीलादेवी गुरुङ र शिक्षक मधुसुधन अधिकारीको सक्रियतामा सुरु भएको होमस्टेमा अहिले दैनिकजसो विभिन्न विषयमा अध्ययन गर्न आउनेको ताँती लाग्छ । सुरुमा परीक्षणका रुपमा सुशीलाको घरबाट सुरु भएको होमस्टे अहिले स्थानीय गुरुङ बस्तीका १० घरमा सञ्चलित छ । दश घरका होमस्टेमा करिब ७० जनासम्म बस्न मिल्ने क्षमता छ ।

????????????????????????????????????
“सरकारको ग्रामीण पर्यटनको अवधारणामा हातेमालो गर्न परीक्षणका रुपमा सुरु गरिएको हो,” शिक्षक अधिकारीले भन्नुभयो, “अहिले होमस्टे थप्नुपर्ने भएको छ ।” पर्यटकीय एवम् संरक्षित पञ्चासे क्षेत्रको अवलोकनका र स्थानीय गुरुङ समुदाय, गाउँमा वैदेशिक रोजगारले पारेका प्रभावलगायत विषयमा अध्ययन गर्न दैनिकजसो पर्यटक यहाँ आउने गरेका छन् । 

दुई हजार ५१७ मिटर उचाइमा रहेको पञ्चासे क्षेत्रमा विभिन्न प्रकारका वनस्पति र जीवजन्तु पाइन्छन् । करिब ४५० हेक्टरमा फैलिएको संरक्षित वनमा मृग, घोरल, चितुवालगायत वन्यजन्तुदेखि थरीथरीका पक्षी देख्न सकिन्छ । यहाँ अध्ययन गर्न आउनेहरु नजिकैका होमस्टेमा रात बिताउँछन् । “अहिले ६२ जनाको समूह आएको छ,” होमस्टे सञ्चालक सुशीलादेवीले भन्नुभयो, “कहिलेकाहीँ त पाहुनाले भरिएर हामी भुईँमा सुत्नुपर्छ ।”

चार सय अठहत्तर घरधुरी रहेको चित्रेमा करिब १०० घर गुरुङ समुदायको छ । यहाँका प्रायः सबै घरका युवा वैदेशिक रोजगारीमा छन् । चित्रे गाउँलाई नमुना र सरसफाइमा पूर्ण आनिबानी परिवर्तनसहितको गाउँ बनाउन यहाँका बालबालिका र महिलाले नेतृत्व लिएका छन् । गाउँलाई प्लास्टिकमुक्त बनाउन बालबालिकाले नेतृत्व लिएका छन् भने सामाजिक काममा महिलाले ।

“यूवा प्रायः बाहिर छन्,”–स्थानीय जनसिद्ध माविको व्यवस्थापन समितिका अध्यक्ष सुकबहादुर गुरुङले भन्नुभयो, “यहाँका अरुभन्दा महिला बढी सक्रिय भएकाले सबै कामको जिम्मा उनीहरुले नै लिन्छन् ।” होमस्टेमा आउने पाहुनालाई खाना र बसोबासमा पनि स्थानीय रहनसहनको राम्रो पहिचान दिइन्छ ।

खानामा गुन्द्रुकको अचार, कोदाको ढिँडो, फापरर मकैको रोटी पाहुनाको इच्छाअनुसार । त्यसमा लोकल कुखुराको मासुको स्वाद फरक लिन पाइन्छ । “हामीले पाहुनालाई गाउँले परिवेशमै रमाइलो गराउन चाहन्छौँ,”–होमस्टे सञ्चालक धनकुमारी गुरुङले भन्नुभयो, “बाहिरी सामान त सहरमै पाइन्छ, यहाँको फरकपन नदिए पाहुना कसरी तान्ने ?” रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV