
तनहुँ, जिल्लामा रहेको सिर्जना विकास केन्द्रले ऋण लिएर मृत्यु भएका तीन ऋणीको कर्जा मिनाहा गरेको छ ।
जिल्लाको भानु नगरपालिका–१ का विष्णुमाया कुमाल, कमला सुनार र डोलकुमारी घर्तीको ऋण मिनाहा गरेको हो । सिर्जना विकास केन्द्रका प्रमुख कार्यकारी अधिकृत वीरबहादुर अधिकारीका अनुसार कुमालले रु एक लाख ५० हजार ऋण लिएकामा रु एक लाख १३ हजार मिनाहा तथा राहत रकमबापत रु दस हजार प्राप्त गर्नुभएको छ ।
त्यसैगरी सुनारले लिएको रु एक लाख १० हजार ऋणमध्ये रु ९४ हजार ४०० मिनाहा र रु आठ हजार राहत रकम तथा घर्तीले लिएको रु ६० हजारमध्ये रु ४५ हजार ९०० मिनाहा गरी रु पाँच हजार राहत रकम प्राप्त गर्नुभएको छ । भानु नगरपालिकाकै महिला सदस्य राधादेवी अधिकारीलाई पाठेघरको शल्यक्रिया गर्न रु पाँच हजार प्रदान गरिएको सो केन्द्रले जनाएको छ ।
संस्थाले सदस्यका लागि पाठेघर, मुटु शल्यक्रिया, स्तन क्यान्सर, परिवार नियोजन, सुत्केरी सुविधालगायत सहयोग गर्दै आएको छ । सो शाखाअन्तर्गत तीन नगरपालिकाका करिब दुई हजार ५०० महिला सदस्य संस्थामा आबद्ध गराई लघुवित्त कार्यक्रममार्फत विविध सेवा प्रदान गर्दै आएको कार्यकारी अधिकृत अधिकारीले बताउनुभयो । रासस