
बाजुरा, बाजुरा जिल्लाको पूर्वीत्तर वाई, साप्पाटा, जगन्नाथ र बाँधु गाउँ विकास समितिका जनताले आर्थिक वर्ष २०६९ माघदेखि हालसम्मको सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् ।
तत्कालीन गाविससचिव कमानसिंह कँुवर, दिलबहादुर बुढा र रामप्रसाद जोशीले जिविस बाजुराबाट पेस्कीस्वरुप गाविसमा वितरण गर्नका लागि लगिएको ६३ लाख ९३ हजार ४०० रुपैयाँ बाजुरा जिल्लाको पाण्डुसैन गाविसको पोरखे लेकमा २०७० साल जेठ ३१ गते राति बास बसिरहेको अवस्थामा तत्कालीन सचिव रामप्रसाद जोशीले राति नै अरू सचिवलाई जानकारी नदिएर चोरेका थिए ।
यसपछि रोकिएको सो भत्ता वितरण गर्न लागिएको स्थानीय विकास अधिकारी अर्जुनप्रसाद सुवेदीले जानकारी दिनुभयो । वाईमा ३९३, साप्पाटामा एक हजार ४६, जगन्नाथमा ४९३ र बाँधुमा ६५ जना गाविसका दलित, ज्येष्ठ नागरिक, एकल महिला अपाङ्ग र बालबालिकाको सो भत्ता वापत्को रकम पाउने उहाँले वताउनुभयो । रासस