
प्रधानमन्त्रीको भारत भ्रमणमा आर्थिक मुद्दाहरुका बारेमा निजी क्षेत्रले लिखित सुझाव दिने, असहज अवस्थाका बारेमा भारतसंग गंभीर छलफल गर्न सुझाव ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई आर्थिक मुद्दामा सवल बनाउन निजी क्षेत्रले प्रधानन्त्री ओलीलाई सुझाव दिएको छ । उद्योगी व्यवसायीहरुले आज प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर निजी क्षेत्रको सुझाव दिएका हुन् ।
प्रधानमन्त्रीसंगको भेटमा उद्योगी व्यवसायीले अहिले व्यापारमा देखिएको असहज अवस्था कसरी दीर्घकालीन रुपमा सहज बनाउने भनेर भारतसँग गंभीर छलफल गर्नुपर्ने सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीलाई भारत भ्रमणमा उठाउनुपर्ने आर्थिक मुद्दाका बारेमा लिखित सुझाव दिइने र थप अरु नाकाहरु सुचारु गरेर संयुक्त रुपमा नेपाल भारत व्यापारलाई सहजीकरण गरेर लानुपर्नेमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताउनुभयो । उहाँले सबै संघसंस्थाहरु मिलेर समस्या पहिचान गरी लिखित रुपमा प्रधानमन्त्रीलाई सुझाव पेश गर्ने बताउनुभयो ।
पारवहन समस्याको दीर्घकालीन सुधार, भारतीय लगानीलाई कसरी आकषिर्त गराउने लगायतका विषयमा भारतसँग छलफल गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको नेपाल च्याम्बर अफ कमर्सका राजेशकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीसँगको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल भारत चेम्वर अफ कमर्श एन्ड इण्डष्ट्रिजमा आवद्ध व्यवसायीहरुको सहभागिता थियो ।