
झापा झापाको कनकाई नगरपालिका–३ निवासी ५० वर्षीय मनोरथ पाठकको हत्या आरोपमा प्रहरीले एक किशोरीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ निवासी १९ वर्षीया प्रमिला विक रहेकी छिन् । इलाका प्रहरी कार्यालय अनारमनी प्रहरीनायब उपरीक्षक खड्गबहादुर खत्रीका अनुसार विकलाई भद्रपुरबाट दुई दिनअघि पक्राउ गरिएको हो ।
ती किशोरीलाई प्रहरीले आज जिल्ला अदालत झापामा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेपछि मात्र सार्वजनिक गरेको हो । गत माघ १७ गते झापाको बिर्तामोडमा रहेको बीएन्डवाई होटलमा पाठक मृत भेटिएका थिए । माघ माघ ११ गतेदेखि उक्त होटलमा विकसँगै बस्दै आएका पाठक मृत अवस्थामा फेला पर्नु र युवती फरार रहनुले घटना रहस्यमय भएको प्रहरी नायब उपरीक्षक खत्रीले बताउनुभयो ।
विकले नै पाठकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको खत्रीको भनाइ छ । रासस