२८ माघ २०७२, बिहीबार

गोरखा, बिजुली नहुँदा गोरखाको ३२ गाउँ विकास समितिका भूकम्पपीडितको लगत सङ्कलनमा समस्या भएको छ ।
भूकम्पले भत्किएका कुलो, पावर हाउस मर्मत गर्ने आवश्यक बजेट स्थानीयवासीसँग नहुँदा गाउँमा रहेका लघुजलविद्युत् सञ्चालन गर्न सकिएको छैन । यसले गर्दा भूकम्पपीडितको आर्थिक, सामाजिक अवस्थाका साथै भूकम्पले पु¥याएको क्षतिको लगत सङ्कलनमा गाउँ पुगेका इन्जिनियरले ट्याब (सानो कम्प्युटर) चार्ज गर्न नपाएको गुनासो गरेका छन् ।
लाप्राक, बारपाक, घ्याच्चोक, गुम्दा, उहिया, लापुलगायत उत्तरी भेगका गाविसमा ट्याब चार्ज गर्न नसकिएको हो । लाप्राकका भूकम्पपीडितको तथ्याङ्क सङ्कलनमा खटिनुभएका इन्जिनियर सुजन रेग्मीले भन्नुभयो, “बिजुली नहुँदा ट्याब चार्ज गर्न पाइएन ।”
बिजुलीको विकल्पमा सोलार ऊर्जाबाट ट्याव चार्ज गरे पनि घाम नलागेको दिन चार्ज गर्न नसकिने भन्दै उहाँले ब्याकप आवश्यक रहेको बताउनुभयो ।

भूकम्पपीडितको आवास, आर्थिक र सामाजिक अवस्थाका साथै घरमूलीको फोटोसहित लगत सङ्कलन गरेर तथ्याङ्क विभागमा सिधै पठाउँदै आएको इन्जिनियरले बताएका छन् ।
एक गाउँमा एक इन्जिनियरको साथमा एकजना सामाजिक परिचालक खटिएका छन् । इन्जिनियरलाई तथ्याङ्क विभागले तालिम दिएको हो भने सामाजिक परिचालकलाई जिल्लामा तालिम दिइएको थियो ।

बारपाक गाउँमा खटिएका सामाजिक परिचालक ओमबहादुर घलेले एउटा व्याकपले नपुग्ने भन्दै कम्तीमा पाँचओटा ब्याकप आवश्यक परेको बताउनुभयो ।
इन्जिनियरसहितको उक्त टोलीले एक दिनमा कम्तीमा दश घरपरिवारको लगत सङ्कलन गर्नुपर्ने हुन्छ । दुःख गरेर सङ्कलन गरिएको तथ्याङ्क जिपिआरएसमा देखिएको समस्याले गर्दा सेन्ट नहुने घलेको भनाइ छ ।
“सङ्कलन गरिएको तथ्याङक सेन्ट हुन एक घन्टा लाग्छ”, घलेले भन्नुभयो, “फोटो पठाउन गाह्रो भयो ।” सङ्कलन गरिएको फोटो इन्टरनेटको पहुँचमा पुगेपछि सेन्ट गर्न मिल्ने बनाउन उहाँले तथ्याङ्क विभागलाई आग्रह गर्नुभएको छ ।

नक्कली भूकम्पपीडितको बिगबिगी भएपछि लगत सङ्कलन गर्न सुरु गरिएको हो । केन्द्रीय तथ्याङ्क विभागको निर्देशनमा जिल्लास्थित तथ्याङ्क कार्यालयले जिल्ला दैवी प्रकोप उद्धार समितिको समन्वयमा हर्ड नेपाल नामक संस्थासँग सहकार्य गरी गाउँमा इन्जिनियर र सामाजिक परिचालक खटाएको हो ।
हर्डका गोरखास्थित परामर्शदाता सुशीलबाबु श्रेष्ठका अनुसार पहिलो चरणमा ६२ र गाविसमा ६३ जना इन्जिनियर खटिएका छन् ।
अन्य गाविस र नगरपालिकामा दोस्रो चरणमा इन्जिनियर खटाउने तयारी हर्डको छ । गोरखामा ६० गाविस र दुई नगरपालिका भित्रका वडामा भूकम्पले गर्दा घर भत्किएका छन् । कम्तीमा ४५ दिनभित्र भूकम्पपीडितको लगत सङ्कलन सक्नेगरी धमाधम काम भइरहेको श्रेष्ठको भनाइ छ । लगत सङ्कलनपछि सकेपछि पुनः निर्माणको चरण सुरु हुने बताइएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV