
म्याग्दी, म्याग्दीको मराङ–३ कल्लेनीका बासिन्दा पर्यटकीय स्थलमा पूर्वाधार निर्माणमा जुटेका छन् ।
गाउँमा भित्रने पर्यटकको सुविधा तथा पर्यटन विकासका लागि कल्लेनीका बासिन्दाले आवास स्थल, पदमार्ग निर्माण, पर्यटकीय स्थलको संरक्षण र प्रचारप्रसारमा जुटेका हुन् ।
त्यहाँका बासिन्दाले पछिल्लो समय श्रमदान गरेर पर्यटक क्याम्पिङ साइट ९आवास क्षेत्र०को निर्माण गरेका छन् । ३५ घरधुरीको बसोबास रहेको कल्लेनीका बासिन्दाले करिब दुई लाख रुपैयाँ बराबरको श्रमदान गरेर खिरोबोट भन्ने ठाउँमा क्याम्पिङ साइट निर्माण गरिएको स्थानीय अगुवा युवा खगिन पुनले जानकारी दिनुभयो ।
धौलागिरि चक्रीय पदमार्गको भ्रमणमा जाने र त्यहाबाट फर्कने पर्यटकको सुरक्षित र व्यवस्थित बसाइका लागि क्याम्पिङ साइट बनाएको उहाँले बताउनुभयो । भिरालो पाखोमा सम्माएर खेल मैदानजस्तै बनाइएको क्याम्पमा खानेपानी र शौचालयको समेत व्यवस्था गर्न लागिएको छ ।
यसअघि कल्लेनीका बासिन्दाले पर्यटकीय हिसाबले सम्भावनायुक्त क्यामध्याम गुफासम्म जाने पदमार्ग बनाइसकेका छन् । उनीहरुले गुफाको संरक्षण र प्रचारप्रसारका लागि विभिन्न गतिविधि गर्दै आएका छन् ।
मगर समुदायको बसोबास रहेको कल्लेनी गाउँ धौलागिरि चक्रीय पदमार्गअन्तर्गत पर्छ । कल्लेनीमा रहेको क्यामध्याम गुफाका साथै छहरी खोलाको झरना पनि पर्यटकीय हिसाबले सम्भावनायुक्त मानिन्छ । रासस