
रुकुम, पछिल्लो समय मनग्य आम्दानी हुन थालेपछि जिल्लाको गरायलाका किसान कुरिलो खेतीतर्फ आकर्षित भएका छन् ।
कुरिलोको माग बढेको र ग्राहक घर दैलोमै पुग्न थालेपछि किसान यस खेतीतर्फ आकर्षित भएका हुन् । जङ्गलमा खेर गइरहेको कुरिलो संकलन गरी गरायला– १ भलाचौरका लालबहादुर ओली, बालाराम पुन र तिलक ओलीले खेत बारीमै कुरिलो लगाई आम्दानी लिन सुरु गरेका छन् ।
अन्न बालीभन्दा कुरिलोले मनग्य आम्दानी दिन थालेपछि उनीहरु कुरिलो खेती गर्न हाँैसिएका हुन् । अहिले गाउँका अन्य किसान पनि जङ्लमा खेर गइरहेको कुरिलो सङ्कलन गरी खेती गर्न थालेका छन् ।
घरेलु औषधि तथा विदेश निर्यात हुने कुरिलो खेतीबाट गरायलाका किसानले वार्षिक रु दुई लाखदेखि रु पाँच लाखसम्म आम्दानी गर्ने गरेका छन् । ज्वरो, सुख्खा खोकी, घाँटीको खराबी, मुटु रोग, अम्लपित्त (ग्याष्ट्रीक), कमलपित्त (जण्डिस), स्मरणशक्तिको कमजोरीलगायत रोगको घरेलु उपचारमा कुरिलो प्रयोग हुँदै आएको छ । रासस