२८ माघ २०७२, बिहीबार

गुवाहाटी: पौडीकी उदीयमान खेलाडी गौरिका सिंहले १२औं दक्षिण एसियाली खेलकुद (साग) मा व्यक्तिगत स्पर्धामा बुधबार रजत पदक जितेकी छन् । गुवाहाटीस्थित डा.जाकिर हुसेन एक्वाटिक पौडीपोखरीमा गौरिकाले दुई सय मिटर इन्डिभिज्युअल मिड्लेमा रजत पदक जितेकी हुन् । सागमा उनले जितेको पदक संख्या एक रजतसहित चार पुगेको छ ।

 

गौरिकाले निर्धारित दूरी दुई मिनेट ३३.६ सेकेन्डमा लक्ष्य पूरा गरेकी थिइन् । उनले निकालेको समय राष्ट्रिय कीर्तिमानसमेत हो । उक्त स्पर्धामा भारतकी श्रद्धा सुधीरले स्वर्ण जितिन् । गौरिकाको यस स्पर्धामा यसअघि दुई मिनेट ३८.१७ सेकेन्डको प्रदर्शन थियो । यस स्पर्धामा ६ देशका आठ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

 

नेपाली पौडीले सागमा व्यक्तिगत स्पर्धामा हात पारेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो । यसअघि नेपाली पौडीले आठौं सागको रिलेमा स्वर्णपदक जितेको थियो ।

 

जारी सागमा यसअघि गौरिकाले दुई सय मिटर ब्याक स्ट्रोक, चार सय मिटर ब्याक स्ट्रोक र चार सय मिटर फ्रिस्टाइलमा कांस्य पदक जितेकी थिइन् । उनले जितेको सबै स्पर्धामा नेपालको राष्ट्रिय कीर्तिमानसमेत बनेको छ । उनी सागमा व्यक्तिगत स्पर्धामा पदक जित्ने पहिलो नेपाली पौडीबाज हुन् । सागमा उनको यो पहिलो सहभागिता हो ।

 

गौरिका अहिलेसम्म सागको एउटै संस्करणमा सर्वाधिक पदक जित्ने नेपाली खेलाडी बनेकी छन् । १३ वर्षीया गौरिकाले १२औं सागमा १२ स्पर्धामा भाग लिएकी थिइन् जसमा उनले सातवटा स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाइन् । ‘म यो पदक नेपाल र भूकम्पले पीडित नेपालीलाई समर्पण गर्न चाहन्छु’, रजत पदक जितेपछि गौरिकाले भनिन् ।

निरन्तर अभ्यासले सफलता प्राप्त भएको उनले बताइन् । अब एसियाड र ओलम्पिकमा पदक जित्ने सपना रहेको पनि उनले बताइन् ।

gaurika

गौरिका लन्डनको बरनेट कोप्थाल स्विमिङ क्लबमा दैनिक बिहान चार बजेदेखि पौडीको अभ्यास गर्छिन् । उनको हरेक साता १४ घन्टा पौडीपोखरीमा बित्छ । त्यसबाहेक पढाइमा पनि उनी अब्बल रहेको उनका बाबु पारस सिंहले बताए । ‘एउटा हातले ताली पक्कै बज्दैन । नेपालले गौरिकालाई पनि धेरै दिएको छ, गौरिकाले पनि नेपाललाई’, पारसले भने । उनले नेपाली पौडीका लागि ठूलै उपहार दिने योजनामा आफ्नो परिवार लागेको पनि बताए ।

 

पढाइ र खेलकुद सँगै अगाडि बढाएकी गौरिकाको सफलताका पछाडि उनकी आमा गरिमा राणाको पनि ठूलो हात छ । गरिमा एसएलसी परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी हुन् । गौरिका लन्डनस्थित ह्याब्स गल्र्स स्कुलमा सात कक्षामा अध्ययनरत छिन् । नेपाली पौडीमा लगातारको सफलतापछि गौरिकालाई शान्ति शिक्षा अभियान नेपालले सद्भावनादूत बनाएको छ ।

 

१२औं सागमा नेपालको पौडी यात्रा पनि सकिएको छ । सागमा सहभागिता जनाउन लन्डनबाट सोझै बुबा पारससँग गुवाहाटी आएकी गौरिका बिहीबार लन्डन फर्किनेछिन । स्कुलको परीक्षा भएकाले उनी हतारमा लन्डन जान लागेकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV