
मार्सलआर्टमा नेपालको मान र दम्भ दक्षिण एशियाली भूमिमै उच्च छ । दक्षिण एशियाली खेलकुदमा मार्सल आर्टको प्रवेश नेपालमा आयोजित आठौ दक्षिण एशियाली साग खेलकुद देखि नै भएको हो । यसबीचमा सागका अन्य राष्ट्रले पनि मार्सलआर्टमा धेरै लगानी गरे नै । भारतमा जारी १२ औ सागमा त नेपालको मार्सल आर्टको रवाफ तोड्न कराते नै हटाइयो र अन्य पदकको सम्भावनामा भएको मार्सल आर्टको विद्यामा पनि नेपाललाई कमजोर तुल्याउन बिभिन्न तिकडमबाजी नै अपनाइयो । उसुले यसपटक यस्तै नियति भोग्यो अर्थात भारतले खेलमा झेल गरेरै छोड्यो ।
भारतको उत्तरपूर्वी दुई शहर गुहावटी र सिलोंगमा जारी १२ औ दक्षिण एशियाली खेलकुद उसुको स्पर्धा बुधबारदेखि टुंगिएको छ । नेपालका लागि पदकको वर्षा गराउने विश्वास गरिएको मार्सलआर्टको यो विधामा नेपालका लागि पदकको बर्षा त भयो तर सोचे जस्तो स्वर्णको वर्षा भने भएन । नेपालले कम्तिमा पनि उसुमा चार स्वर्णको आश गरेको थियो , जुन आशा न्यायोचित नै थियो नेपालको प्रदर्शन र हैसियत अनुसार । तर नेपालले उसुमा १ स्वर्ण , १० रजत र १ काँस्य बटुल्न सफल भयो । स्वर्ण सफलता सोचे अनुसार हात नलाग्दा नेपाल र नेपाली उसु खेलाडीहरु निराश बन्नु अस्वभाविक होइन पनि । तर नेपालको यो असफलतामा नेपाली खेलाडीको प्रदर्शन भन्दा पनि आयोजक भारतको सफलता धेरै अर्थमा महत्वपूर्ण रहयो । उत्तरको चीनबाट संसार भर फैलिएको उसुमा दक्षिणको भारतले देखाएको रवाफ वास्तवमा नै ईष्र्या लाग्दो रहयो नै । तर एघारवटा स्पर्धाको फाइनलमा पुगेको नेपाल के एउटास्वर्ण पदकका लागि मात्र हकदार थियो त ? यो प्रश्न लिएर सरोकारवाला निकायहरुले गम्भीर आत्मसमीक्षा गर्नु पर्ने अवस्था सिलोंगले उत्पन्न गराएको छ नै । केही खेलाडी विरामी हुन र विरामी अवस्थामा नै क्वानमा उत्रनु एउटा दुर्भाग्य होला तर सविता राईको वगेको आँशुको जिम्मेवार को ?
स्वर्ण हैसियतको प्रदर्शन गरेकी सविताले आफुलाई रजत पदक हुत्याएको थाहा पाएपछि उनको आँशु मात्र वगेन , उनले आफ्नो असन्तुष्टि सिधै जुरीको सामु पोखिन । तर न्यायका लागि उनले मागेको भिख निदर्यी निर्णायकहरुले सुनेनन । जस्ले गर्दा सविताको हक खोसिदा त्यो स्वर्णले भारतीय खेलाडीको गला सजियो । यता गला अवरुद्ध पार्दै सविताले यसरी क्षमा माग्न बाध्य भइन नेपाली दाजुभाई दिदीवहिनीसंग । विश्वका हरेक स्तरका खेलमा मार्सलआर्टमा हुने निर्णय कुनै न कुनै हिसाबले विवादास्पद रहने गरेका छन नै । रेफ्रीको तजबिजमा हुने निर्णयले धेरै विवादमा पनि निम्त्याएका छन् । यता सवितामाथि भएको अन्यायले नेपाली टोलीलाई सतर्क र सचेत हुन भने सवक सिकाएको छ । किनभने यही नियति तेक्वान्दोमा पनि दोहोरियो भने नेपाललाई ठूलो क्षति हुन सम्भावना सामुन्ने छ ।