
फोटो :पार्टी मुख्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिएको सभापति सुशील कोइरालाको पार्थीव शरीरमा पार्टीको झण्डा ओढाउँदै कांग्रेस शीर्ष नेताहरु । तस्बिरः दिनेशविक्रम शाह
काठमाडौं: ‘फुर्ती हरायो मेरो भनेको तीन दिनमा उहाँले संसार छोड्नुभयो, जुन शब्द उहाँको मुखबाट पहिलोपटक सुनेको थिएँ मैले । समयमै अस्पताल नलगेर उहाँको मृत्यु भएको होइन । उहाँले धेरै प्रकारका रोग समुद्रपारि पुगेर पनि जाँच गर्नुभएको हो । पछिल्लो समय अस्पताल ल्याउने स्पष्ट आधार उहाँले संसार छोड्नुको २० मिनेट पहिलेसम्म पनि पाउन सकिएन ।’
यसो भन्दै गर्दा डा. योगीका रसाएका आँखा एकोहोरा भए । आफूलाई समाल्दै डा. योगीले भने, ‘दुई कचौरा जाउलो उहाँले नखाइदिएको भए अस्पताल ल्याउने स्पष्ट आधार मिल्थ्यो । तर केहीबेर अघि गम्भीर उहाँले जाउलो मगाउनुभयो, अरू पनि खाने भन्दै माग्नुभयो ।’
योगीकै करमा बिहान थोरै जाउलो खाएका कोइरालाले दिउँसो दुई कचौरा जाउलो खाएको देख्दा स्वास्थ्य ठिक हुने अनुमानका साथ डा. योगीले बुक गराएको बेड ‘क्यान्सिल’ गरेका थिए । विडम्बना ! चिकित्सक, बिरामी र आफन्तले अनुमानै नगरेको अवस्था आयो ।
खुम्चिएको शरीर, बढी दौडधुप
सवारी दुर्घटनापछि उपचारका क्रममा जिब्रोको क्यान्सर पत्ता लगाउन ‘बायोस्पी’ जाँचका बेलादेखि कोइरालाको स्वास्थ्यको निगरानीमा रहेका योगीले परिवारका सदस्य व्यस्त हुँदा पनि पछिल्लो समय उनलाई अस्पताल लग्ने÷नलग्नेमा दोधारमा परेको बताए ।
जिब्रोको क्यान्सरको उपचार गरेपछि कोइरालालाई फोक्सोमा पनि क्यान्सर देखिएको थियो । फोक्सोको क्यान्सर हुनुपहिले नै उनलाई फोक्सो फुल्ने दम ‘ब्रोङकाइटिस’ पुष्टि भएको थियो । साथमा फोक्सो खुम्चने ‘आईएलडी’ रोग समेत कोइरालालाई देखापरेको थियो । आधा फोक्सो फुलेको र आधा फोक्सो खुम्चिएको शरीर लिएर उनले राजनीतिक दौडधुप जारी राखेका थिए ।
क्षयरोगसमेत भएको शरीरले राजनीतिक दौडधुपका कारण थोरै समय पनि आराम नपाएको डा. योगीको निष्कर्ष छ । ‘पाँच प्रकारका जटिल रोग बोकेको शरीरमा कोइरालाले दैनिक १५ प्रकारका औषधि खानुहुन्थ्यो तर पनि म बिरामी छु, मेरो स्वास्थ्यमा सचेत हुनुपर्छ भन्ने सोच्नसमेत भ्याउनुभएन उहाँले,’ योगीले भने, ‘समयमै आफ्नो स्वास्थ्य उपचारका लागि समय छुट्याएको भए वा उहाँलाई हकारेर तपाईंले खानैपर्छ, आराम गर्नेपर्छ भन्ने मानिस भइदिएको भए सायद उहाँ अझै बाँच्नुहुन्थ्यो होला ।’
योगीको भनाइमा समस्या देखिनासाथ उपचारमा मात्र लाग्ने नभएर कोइरालालाई स्वास्थ्यको ख्याल गर्न पटकपटक परामर्श गर्दा पनि जिद्दी गर्दै भीडभाडयुक्त कार्यक्रममा जान छोडेनन् । कोइरालालाई दुई साताअघि पनि श्वाप्रश्वासमा समस्या आएपछि अक्सिजन दिइएको थियो । कोइराला अक्सिजनको सिलिन्डरसहित गोरखा, पर्वतलगायतका जिल्लामा पुगेका थिए ।
‘बढी जाँगर देखाउँदा उहाँले रोगप्रतिरोधात्मक क्षमता गुमाउँदै जानुभएको थियो । भन्दा पनि नमान्ने, भीडभाडमा नजानु भन्दा खिसिक्क हाँसेर टार्ने बानी थियो उहाँको’, योगीले भने, ‘सायद उहाँलाई आफ्नो भन्दा देश र जनताको माया धेरै थियो ।’
जबरजस्ती घरमै आराम
चिसो मौसमसँगै रुघाखोकी सुरु हुँदा पनि जिल्ला दौडाहामा व्यस्त उनले पछिल्लो साता डा. योगीसँग हाँस्दै भनेका थिए, ‘नाकबाट पहिले पानीपानी आउँथ्यो, आज त लेदो पो आइरहेको छ ।’
त्यसपछि डा. योगीले उनलाई जरबजस्ती घरमै आराम गर्न लगाएका थिए । उपत्यकामै आयोजना गरिएका दुईवटा महत्त्वपूर्ण कार्यक्रममा जान दिइएन । रुघाखोकीसँगै पछिल्लो चार दिनदेखि उनलाई ज्वरो पनि आउन थालेको थियो । शरीर दुख्न थालेपछि कोइरालाको रगत जाँच गरियो ।
रुघाखोकी बिग्रिएर संक्रमण सुरु भएको रिपोर्ट देखियो । त्यसपछि पहिलोपटक उनले ‘मेरो फुर्ती हरायो’ भनेर मलिन अनुहार लगाएका थिए । त्यसलगत्तै सहिद गंगालाल हृदय केन्द्रका चिकित्सक मनबहादुर केसीसमक्ष कोइरालालाई पुर्याइएको थियो ।
एक्सरे, इको, इसिजीलगायत गरी घर लगिएको थियो । आइतबार डा. योगीले कोइरालालाई संक्रमणको पुष्टि भएपछि एन्टिबायोटिक बढाएर खान लगाएका थिए । डा. शशांक, पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई समेत बोलाएर डा. योगीले कोइरालालाई अस्पताल लग्ने÷नलग्नेबारे सल्लाह गरेका थिए ।
केही कम भएपछि डा. आफ्नो निवास सानेपा लागे । तर सोमबार चार बजे कोइरालालाई सास फेर्न समस्या भएपछि डा. योगी पुग्दा केइरालाको ज्वरो १०५ डिग्री पुकेको थियो । घरमा कोइरालाका भतिजाबाहेक कोही थिएन ।
त्यसपछि डा. योगीले एन्टिबायोटिक बढाउँदै शिक्षण अस्पतालमा कार्यरत चिकित्सकलाई बेड बुक गर्न लगाए । ‘अस्पताल सकेसम्म नजाने भनेर उहाँले जिद्दी गरिरहनुभएको थियो । त्यही मौका पारेर मैले जाउलो नखाए अस्पताल जानुपर्छ, सुईले घोच्नुपर्छ भन्दै सम्झाएँ’, डा. योगीले भने, ‘त्यसपछि उहाँले चुप लागेर जाउलो खानुभयो ।’ बिस्तारै ज्वरो कम भएपछि कोइरालाले दुई बजेतिर दुई कचौरा जाउलो मगाएर खाएपछि चिकित्सक अचम्ममा परेका थिए ।
स्वास्थ्यमा सकारात्मक परिवर्तन आएपछि डा. शशांकको सल्लाहमा डा. योगीले बुक गराएको बेड क्यान्सिल गरेका थिए । ज्वरो बढेको फोन आएपछि साँझ आठ बजे डा. योगी कोइरालाको स्वास्थ्यबारे बुझन् पुगेका थिए ।
तर त्यहाँ पुग्दा ज्वरो कम भइसकाले आफू आराम गर्न साढे १० बजे घर फर्किएको डा. योगीले बताए । घर पुगेर आराम गरिरहेका बेला सास फर्न गाह्रो भयो भन्दै डा. योगीलाई फोन आयो । त्यसपछि अक्सिजनको मात्र बढाउन सल्लाह दिएर कोइराला निवास पुगेका डा. योगीले त्यतिबेला भने कोइरालाको स्वास्थ्य निकै खस्किएको पाए ।
‘अस्पताल लग्ने विषयमा सल्लाह गर्दागर्दै उहाँले संसार छोड्नुभयो,’ योगीले भने, ‘अति इमानदार नेताले आफ्नै अगाडि आँखा बन्द गर्दा मन भारी भएर आयो ।’
सुईद्वारा औषधि दिँदै गर्दा कोइरालाले ‘मैले बुझें’ सम्म भनेका थिए । लगत्तै दिसापिसाब गरेका कोइरालाको १२ बजेर ५० मिनेटमा निधन भएको चिकित्सक योगीले बताए ।
सादा व्यवहार, सादा प्रस्थान
योगीको नजरमा सुशील कोइराला ‘रंक’ नेता थिए । यद्यपि उनी खान र लगाउनमा सौखिन थिए । चिटिक्क र सफा लगाउन उनको सौख थियो । सफा र स्वादिलो खानामा उनी रुचि राख्थे । बजारिया खानामा उनले रुचि राखेको देखिएन ।
कहिल्यै पनि म नेता हुँ, प्रधानमन्त्री हुँ वा ठूलो मान्छे हुँ भन्ने भाव कोइरालाले प्रकट गरेनन् । जहिले र जोसँग पनि हजुरहजुर र आज्ञाआज्ञाको व्यवहार उनले प्रदर्शन गरेको योगीले नजिकबाट अनुभूति गरे । अन्तिम प्रस्थान सादा रूपमै गरेको योगी बताउँछन् ।
निख्खर राष्ट्रवादी
योगीको मूल्यांकनमा उनी निख्खर राष्ट्रवादी थिए । पछिल्लो समय उनलाई राष्ट्रियताको मामलामा कमजोर प्रमाणित गर्न खोजिए पनि उनी राष्ट्र र राष्ट्रियताको सबालमा सजग थिए ।
शक्तिकेन्द्रसँग सम्पर्क भएका केही नेताले योगीकै मोबाइलमार्फत कोइरालासँग कुरा गर्न खोज्थे । आएको फोनलाई अस्वीकार नगरे पनि उनले त्यस्ता नेताका बारेमा ‘फलानो पे रोलको मान्छे हो, डा.साप् यस्ता मान्छेसँग धेरै सम्पर्कमा बस्नुहुँदैन’ भन्ने गरेको योगी स्मरण गर्छन् ।
विकासवादी नेता
कोइराला क्यान्सर भएर अमेरिकामा हुँदा आफ्नो रोगभन्दा संविधान कसरी ल्याउने भन्नेमा पिरोल्लिरहेका हुन्थे । पेटस्क्यानका लागि धेरै खर्च भएपछि उनले भनेका थिए, ‘आफ्नै देशमा यस्तो मेसिन भए त यत्रो खर्च हुने थिएन ।’ बजेटका कुरा हुँदा स्वास्थ्यसम्बन्धी नयाँ के गर्न सकिन्छ ? भनेर योगीसँग सल्लाह मागे ।
उनले गाउँगाउँका एकल, विधुर र असहायका लागि पाँचै विकास क्षेत्रमा आधारभूत स्वास्थ्य सेवासहितको वृद्धा श्रम बनाउन सकिने सुझाव दिए । कोइरालाले तुरुन्तै तत्कालीन अर्थमन्त्री डा. रामशरण महतलाई फोन लगाए, योजना राख्न भने र पछिबाट आदेश दिए, ‘डा.साप् एसएमएस पनि पठाइदिनुस् ।’ – अन्नपुर्ण पोष्ट