
तत्कालीन राजा महेन्द्रले ०१७ मा जननिर्वाचित सरकारलाई अपदस्थ गरी निरंकुश पञ्चायती व्यवस्था सुरुवात गर्दा देशबाट प्रजातन्त्र मात्रै लुटिएन, सुन्दर सपना बुनिरहेका किशोर सुशील कोइरालाको सपना पनि तुहियो । त्यतिवेला सुशील कांग्रेसका सामान्य सदस्य मात्रै थिए । राजनीतिक भविष्यबारे न उनले कल्पना गरेका थिए न नेता बन्ने सपना पालेका थिए।
लक्का जवान सुशील त रंगमञ्चको हिरो बन्न चाहन्थे, त्यो पनि नेपाली अथवा हिन्दी फिल्मको होइन, सीधै हलिउडको । त्यसका लागि उनले भारतमा नृत्य र फोटोग्राफीको प्रशिक्षण लिएर प्रारम्भिक तयारी पनि गरिसकेका थिए । ‘हिरो’ बन्ने सपना पूरा गर्न उनी हलिउडतिर हानिने अन्तिम तयारीमा थिए । अमेरिकाको भिसासमेत आइसकेको थियो । तर, १ पुस ०१७ मा राजा महेन्द्रले ‘कु’ गरेपछि बिपी कोइरालासहित कांग्रेसका शीर्ष नेता जेल परे । बिपीले आफ्नो परिवारको संरक्षण गर्ने जिम्मा दिएर सुशीललाई यतै बस्न लगाए । उनी अमेरिका उड्न पाएनन्, नेपालमै बस्न र राजनीतिमा लाग्न बाध्य भए ।
सुशीललाई नजिकबाट जान्नेहरूका अनुसार राजा महेन्द्रले दुई महिना ढिलो मात्रै ‘कु’ गरेको भए पनि उनी अमेरिका पुगिसकेका हुन्थे । पुगेका भए या त जेम्स बोन्डको भूमिका पाउँथे या संघर्ष गरेर पसिना पुछ्दै नेपाल फर्किन्थे । कोइराला परिवारको भएकाले नेपाल फर्किएपछि पनि राजनीतिमा लाग्ने सम्भावना थियो । तर, महेन्द्रले गर्दा उनले राजनीतिमा लाग्न अमेरिकाको फेरो मार्नुपरेन ।
रंगमञ्चको हिरो बन्ने सपना तुहिए पनि राजनीतिमा भने सुशील हिरो भए । सुशीलसित लामो संगत गरेका कांग्रेस नेता पुरुषोत्तम बस्नेतका अनुसार रंगमञ्च र फोटोग्राफी सुशीलको पहिलो रोजाइ थियो । राजनीतिक यात्रा बाध्यात्मक उपज मात्रै हो । ०१६ अघि नै सुशीलले बनारसमा नृत्य र फोटोग्राफीसम्बन्धी प्रशिक्षण लिएका थिए । उनले लामो समय बनारसमा बिताएका थिए । ‘सुशील’दाको हलिउडमा खेल्ने साह्रै ठूलो धोको थियो,’ बस्नेत भन्छन्, ‘तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार विघटन गरेसँगै उहाँ अमेरिका जान रोकिनुभयो ।
केही वर्षअघि नयाँ पत्रिका दैनिकलाई अन्तर्वार्ता दिँदै सुशीलले हलिउड चलचित्रमा खेल्ने आफ्नो धोको पूरा नभएको बताएका थिए । तपार्इं राजनीतिमा नआएको भए कुन पेसामा हुनुहुन्थ्यो भन्ने प्रश्नमा कोइरालाले भनेका थिए, ‘म हिरो हुन्थेँ, हलिउडमा खेल्ने मेरो इच्छा थियो । राजनीति मेरो पहिलो रोजाइ होइन ।’
बिपी र गिरिजाप्रसादसँगै आन्दोलनमा सुशील यसरी समर्पित भए, हलिउडको हिरो बन्ने सपना मात्रै होइन, आफ्नो जवानीसमेत बिर्सिए । देशमा प्रजातन्त्र पुनस्र्थापना हुँदासम्म उनको उमेर ढल्किसकेको थियो ।
सुशीलले वेलावेला भन्ने गरेका थिए, ‘मैले प्रजातन्त्रसँग विवाह गरेँ ।’ तर, पनि कहिलेकाहीँ उनका कुराबाट विवाह गर्ने समय आन्दोलनमा बिताएकोमा पछुतो मानेको संकेत पाउन सकिन्थ्यो । ‘विवाह गर्न त मन थियो, आन्दोलनमा लाग्ने समयमा विवाह गरेको भए परिवार बालबच्चा कसले हेरिदिन्थ्यो ?,’ सुशीलको भनाइ थियो, ‘विवाहभन्दा मैले आन्दोलनलाई रोजेँ ।’
थर कोइराला भए पनि सुशील र बिपीको एउटै पुख्र्याैली होइन । बिपी र सुशीलका आमाहरू दिदीबहिनी हुन् । सुशीलकी आमा बिपीकी आमाकी बहिनी हुन् । कांग्रेस नेता पुरुषोत्तम बस्नेत भन्छन्, ‘बुबापट्टिभन्दा उहाँहरूको आमापट्टिको नाता नजिकको हो ।’ कृष्णप्रसाद कोइराला सिन्धुलीको दुम्जाबाट व्यापार गर्न मोरङको रंगेली झरेका थिए । भन्सारको ठेक्काको काम थालेका कृष्णप्रसादले आफ्नो व्यापारका लागि आवश्यक कामदार पनि आफ्नै गाउँबाट ल्याएका थिए । सोही क्रममा सुशीलको परिवार पनि रंगेली झरेको हो ।
पछि जागिरका क्रममा सुशीलका पिता बोधप्रसाद नेपालगन्ज पुगेका थिए जहाँ उनले जिल्ला वन अधिकृतका रूपमा लामो समय बिताए । ‘डिएफओ भएर उहाँ (बोधप्रसाद) लामो समय नेपालगन्ज बस्नुभयो, सुशील’दासहित उहाँहरू उतै बस्न थाल्नुभयो,’ कांग्रेस नेता बस्नेतले भने । सुशीलका दुई दाइ र तीन भाइ छन् । दुवै दाइको केही वर्षअघि निधन भइसकेको छ । भाइ अरुण र विजय नेपालगन्जमै बस्दै आएका छन् भने अशोक विराटनगरमा छन् । अरुण र अशोक कांग्रेस राजनीतिमा सक्रिय छन् ।
पहिला पनि बोली प्रस्ट थिएन
कांग्रेस सभापति स्व. सुशील कोइरालाको बोली पहिले पनि एकदमै प्रस्ट होइन । ०६२/६३ को दोस्रो जनआन्दोलनलगत्तै जिब्रोमा क्यान्सर भएको पत्ता लाग्यो । उपचारका क्रममा उनको जिब्रोको केही भाग काट्नुपर्यो । त्यसपछि कोइरालाको बोली थप नबुझिने भएको हो ।
दोस्रो जनआन्दोलनलगत्तै कोइराला सामान्य सडक दुर्घटनामा परेका थिए । उनी चढेको गाडी काठमाडौंको गैह्रीधारामा अर्को सवारीसँग ठोक्किएको थियो । दुर्घटनामा हात–खुट्टासहित दाँतमा पनि चोट लागेको थियो । शिक्षण अस्पतालमा दाँतको चेकअप गर्दा उनलाई जिब्रोको क्यान्सर भएको पत्ता लागेको थियो ।
‘दोस्रो जनआन्दोलनलगत्तै उहाँ दुर्घटनामा पर्नुभएको थियो । हात–खुट्टामा सामान्य चोट लागेको थियो,’ कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भने, ‘त्यसपछि शिक्षण अस्पतालमा उपचार गर्दा दाँत दुख्यो हेरिदिनुहोस् भन्नुभयो । डाक्टरले चेक गर्दा उहाँको जिब्रोमा क्यान्सर भएको पत्ता लाग्यो ।’
अप्रेसनका लागि उनलाई अमेरिका लगियो । ०६३ सालमा उनको जिब्रोको शल्यक्रिया गरियो । अमेरिकाको न्युयोर्कस्थित सोल्यन केटरिङ क्यान्सर सेन्टरमा उनको शल्यक्रिया गरिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।