कांग्रेस सभापति सुशील कोइरालाको निधनसंगै पार्टीको नेतृत्व दुई दशकपछि कोइराला परिवारबाट बाहिर आएको छ । विधान अनुसार उपसभापति रामचन्द्र पौडेल स्वत: कार्यबाहक सभापतिको हैशियतमा पार्टीको नेतृत्व तहमा आईपुगेका छन् । तर, फागुन २०–२३ मा हुने पार्टीको १३ औं महाधिवेशनले कोइराला परिवारको विरासत कसले लिने भन्ने फैसला गर्नेछ ।
१३ औं महाधिवेशनमै कोइराला परिवारबाट नेतृत्वमा स्थापित हुने सम्भावना कम छ । कोइराला परिवारबाट अहिले तीन सदस्य कांग्रेस राजनीतिको केन्द्रमा भागमा छन । वीपी पुत्र सशांक, वीपीकै भतिज शेखर (वीपीका भाई केशवका छोरा) र गिरिजाप्रसाद पुत्री सुजाता कोइराला । सुजाता सुशीलको विरासत लिन खोज्दैछिन । तर, उनको उचाईले यसैपटक नेतृत्वमा पुग्ने संभावना कम छ । सशांक र शेखरले नेतृत्वको दावी गरेका छैनन् । उनीहरु दुवैका चाहना महामन्त्रीमा देखिन्छ । सुजाता नेतृत्व नपाउने अवस्थामा उपसभापति पाउनु पर्ने बताउँदै आएकी छिन् ।
‘१३ औं महाधिवेशनमा कोइराला परिवारभित्रैबाट पार्टी नेतृत्व लिने संभावना छैन’ कांग्रेसका एक पदाधिकारीले भने,‘अबको नेतृत्व कि त शेरवहादुरले गर्नेछन कि रामचन्द्र पौडेलले ।’ उनका अनुसार देउवा र पौडेलबीच कसले नेतृत्व लिने भन्ने मुख्य प्रतिस्पर्धा १३ औं महाधिवेशनले फैसला गर्नेछ ।’
कांग्रेस स्थापनाकालमा वीपी कोइरालाले टंकप्रसाद आचार्यलाई सभापति बनाएर आफू कार्यबाहक सभापति भएका थिए । त्यसपछि सुवर्णशमसेर जवरा र कृष्णप्रसाद भट्टराईको कार्यकाल बाहेक कोइराला परिवारबाट कांग्रेस नेतृत्व बाहिरिएको छैन । तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला १५ र सुशील कोइराला ५ बर्ष पार्टीको नतृत्वमा रहे । ०५३ बैशाख २९ गते काठमाडौमा भएको नवौ महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला पार्टी नेतृत्वमा आएका थिए । त्यसपछि दशौ र एघारौ महाधिवेशनले पनि कोइरालालाई नेतृत्वमा चुन्यो । पार्टी विभाजनपछि एघारौ महाधिवेशन अलग–अलग भएको थियो । पार्टी एकतापछि भएको १२ औं महाधिवेशनले सुशील कोइरालालाई निर्वाचित गऱ्यो । उनले नेतृत्व दिदै आएको कांग्रेसको नेतृत्व अब कसले गर्ने भन्ने निर्णय आउन अब एकमहिना पनि बाँकी छैन ।
गिरिजाप्रसादले आफ्नै जीवनकालमा सुजातालाई नेतृत्वमा ल्याउन चाहेका थिए । पार्टीभित्रका बरिष्ठहरुलाई पन्छाएर छोरीलाई उपप्रधानमन्त्री पनि बनाए । तर उनको कदले संभव नभएपछि सुशीलाई नेतृत्वमा स्थापित गराउने भूमिका निर्वाह गरे । आफू छदै कार्यबाहक सभापतिको जिम्मेबारी सुम्पेर गिरिजाप्रसादले सुशीललाई पार्टी नेतृत्वमा स्थापित गराएका थिए । त्यसैगरी सुशील पनि आफ्नो विरासत कोइराला परिवारमै राख्न कोशिसमा थिए । १३ औं महाधिवेशनमा उनको उम्मेदवारीको चर्चालाई यसैसँग जोडिएको थियो । कोइराला निकट सदस्यहरुका अनुसार सुशीलले आफ्नो जीवनको उत्तराद्र्धमा वीपी पुत्र संशाकलाई नेतृत्वमा ल्याउने प्रयासका लागि अघि बढीरहेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।