२६ माघ २०७२, मंगलवार

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको निधनले आफ्नो पार्टी र व्यक्तिगत रुपमा आफूलाई गम्भीर र स्तब्ध बनाएको बताउनुभएको छ ।

parchanda

अध्यक्ष दाहालले आज जारी गर्नुभएको विज्ञप्तिमा नेता कोइराला नेपाली राजनीति तथा लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा र स्थापित व्यक्तित्व रहँदै आउनुभएको तथा उहाँ कांँग्रेसका एक दृढ र त्यागी नेता भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “संविधान निर्माण तथा घोषणाका क्रममा सुशील कोइरालाले राष्ट्रिय सहमति कायम गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो, जुन अविस्मरणीय रहेको छ । संविधान कार्यान्वयनको वर्तमान अवस्थामा उहाँको निधनले ठूलो क्षति भएको छ ।”

उहाँले कोइरालाप्रति पार्टीका तर्फबाट श्रद्घाञ्जलि व्यक्त गर्दै यस शोकाकूल घडीमा काँग्रेसका समग्र पार्टी र उहाँको परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ, “विद्यमान नेपाली राजनीतिको चुनौतीको सामना नेपाली राजनीतिक दलहरु मिलेर मात्र गर्न सकिन्छ भन्ने सुशील कोइरालाको दह्रो मान्यता रहँदै आएको थियो, यही मान्यतालाई दह्रोसँग आत्मसात् गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ ।”रासस

LIVE TV