धनकुटा, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनले देशलाई निकै ठूलो क्षति पुगेको बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार सङ्घ धनकुटाले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा नेता दाहालले कोइराला नेपाली लोकतान्त्रिक आन्दोलनका एक प्रतिष्ठित व्यक्ति रहनुभएको बताउँदै उहाँको निधनले देशलाई नै ठूलो क्षति पुगेको बताउनुभयो ।
सरकार गठनसँगै भारतले गरेको नाकाबन्दी, मधेस आन्दोलन लगायत राष्ट्रिय स्वाधीनताको विषय जस्ता गम्भीर प्रकृतिका अप्ठ्यारा सरकारले सामना गर्नुपरेकाले सोचे जस्तो काम हुन नसकेको बताउनुभयो ।
अर्को एक प्रसङ्गमा उहाँले नयाँ शक्ति कुनै नयाँ सोचका साथ अगाडि नबढेको बताउँदै सबैभन्दा पुराना र पुरातनवादी सोच भएका व्यक्तिको उपस्थिति रहेको समूह कहिल्यै नयाँ शक्ति हुन सक्दैन भन्नुभयो ।
नेता दाहालले मधेसी मोर्चाले आन्दोलनलाई फिर्ता लिएसँगै नाकाबन्दी सहज बन्दै गएको र भूकम्पबाट भएको क्षतिलाई पुनःनिर्माण गर्न संसद्बाट पुनःनिर्माण विधेयक समेत बनिसकेकाले अब सरकार गम्भीरताका साथ देशको विकास र आर्थिक समृद्धितर्फ केन्द्रित भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । रासस