प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका सभापति सुशील कोइरालाको पार्थिव शरीरमा श्रद्धान्जली अर्पण गर्नुभएको छ । महाराजगन्जस्थित निवासको प्राङ्गणमा राखिएको कोइरालाको पार्थिव शरीरमा प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री ओली पूर्व प्रधानमन्त्री समेत रहेका कोइरालाको निधनप्रति श्रद्धान्जली अर्पण गर्न महाराजगन्जस्थित कोइराला निवास पुग्नु भएको हो । कोइरालाप्रति श्रद्धान्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले कोइरालाको निधनले मुलुकमा अभाव खड्ने प्रतिक्रिया दिनुभयो । उहाँले कोइरालाले मुलुकमा संविधान निर्माणका लागि खेलेको भूमिकाको स्मरण गर्दै उहाँको अभाव मुलुकले सधैँ खड्किरहने बताउनुभयो । प्रधानमन्त्री ओलीले सहमति, सहकार्य र एकतामा जोड दिने कोइरालाको निधनले आफू स्तब्ध भएको र सिंगो मुलुकलाई नै अपुरणीय क्षति पुगेको बताउनुभयो ।