
प्रजातान्त्रिक आन्दोलनका निडर योद्धा कांग्रेस सभापति सुशील कोइरालाको निधन, कांग्रेस महाधिवेशनका सम्पूर्ण प्रक्रिया स्थगित, केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको आज निधन भएको छ । कोइरालाको निमोनियाका कारण आज बिहान १२ बजेर ५० मिनेटमा निधन भएको कोइरालाका निजी चिकित्सक कविरनाथ योगीले जानकारी दिनुभयो ।
दमसम्बन्धि क्रनिक अब्सट्रक्टिव पल्मुनरी डिजिज सीओपीडी समस्याले एक्कासी च्यापेपछि अस्पताल लैजान नपाई कोइरालाको निधन भएको हो । निधनको खबरपछि राति नै काठमाडौंमा उपलब्ध नेताहरु कोइराला निवास महाराजगञ्ज पुगेका छन् । कांग्रेसका अधिकांश नेताहरु महाधिवेशनका लागि काठमाडौं बाहिर छन् ।
अस्वस्थ्य भएपछि कोइराला हिजो कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुनु भएको थिएन । काठमाडौं कांग्रेसको अधिवेशन उदघाटन र प्रधानमन्त्री केपी ओलीले बोलाएको पूर्वप्रधानमन्त्रीहरुको छलफलमा पनि कोइराला जान सक्नु भएको थिएन ।