
खोटाङ, । खोटाङ छितापोखरीका युवराज तामाङले केही वर्षयता जडीबुटी खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
तामाङको जग्गामा चार वर्षअघि लगाइएको चिराइतो, मछिनो, सतुवा, पाखनभेद, पदमचाल, लोडसल्लालगायत विभिन्न प्रकारका जडीबुटी बिक्री गरेर मनग्य अहिले राम्रो आम्दानी भएको छ ।
अन्यखेती भन्दा कम मेहनतमा जडीबुटीखेती गर्न सकिने भएकाले बाँझो जग्गाको सदुपयोग हुनुका साथै आम्दानी पनि दोब्बर हुने गरेको तामाङले बताउनुभयो ।
उमेरले ३६ वर्षमात्र पुग्नुभएका तामाङले आफ्नो बाँझो ३० रोपनी जग्गामा जडीबुटीखेती लगाउनुभएको छ ।
लेखाली जग्गा भएका कारण अन्यबाली कम उत्पादन हुने भएकाले जडीबुटीखेती गरेको तामाङको भनाइ छ । “जडीबुटीखेती नगरेको भए अहिलेसम्म पनि उक्त जग्गा बाँझैं हुने थियो ।” उहाँले भन्नुभयो, “अहिले त्यही बाँझो जग्गामा लगाइएको जडीबुटी बिक्री गर्दा राम्रो आम्दानी हुन थालेको छ ।”
तामाङले सात जनाको परिवारलाई खान लाउन र पढाइखर्च जडीबुटीखेतीबाटै गर्नुभएको छ । तामाङले जडीबुटी खेतीबाट आम्दानी लिएको देखेर छिमेकीले पनि सबै बाँझो जग्गामा चिराइतोलगायत जडीबुटी लगाएका छन् ।
तामाङले चिराइतो मात्र वार्षिक ८० किलो उत्पादन गर्दै आउनुभएको छ । बीउ छरेको १८ महिनादेखि ३० महिनासम्ममा टिप्न सकिने चिराइतोबाट उहाँले वार्षिक रु एकलाख ५० हजारभन्दा माथि आम्दानी गर्दै आउनुभएको छ ।
तामाङको नर्सरीमा चिराइतोको बीउ पनि पाइने गरेको छ । गतवर्ष उहाँले रु ६० हजारभन्दा बढीको बीउ बेचेको बताउनुभयो । रासस