
कावासोती । माघे औँसीमा स्नान गर्न त्रिवेणीधाम आएको भारतीय तीर्थयात्रु बोकेको ट्र्याक्टर पल्टिँदा दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, नवलरासीका प्रहरी निरीक्षक सुभास गैरेका अनुसार उत्तरप्रदेशको नेचरुनबाट आएको ट्र्याक्टर आज बिहान नवलपरासीको गुठीसूर्यपुरा–७ सूर्यपुरामा पल्टिँदा उत्तरप्रदेश सिमराकी ६० वर्षीया कर्मवलीदेवी गुप्ता र सोही ठाउँका १७ वर्षीय रमेश गुप्ताको उपचारका क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको हो ।
दुर्घटनामा परी १० जना घाइते भएका छन् । उनीहरूको चौपत्तास्थित सहिद स्मृति सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । औँसीमा स्नान गर्न स्वदेशी तथा विदेशी भक्तजन त्रिवेणी धाममा आउने गरेका छन् ।
त्यसैगरी कुडिया–६ स्थित महलबारीमा मुखबाट रगत बगेको अचेत अवस्थामा एक युवकलाई भेटेपछि उपचारका लागि पृथ्वीचन्द्र अस्पताल लगेकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक गैरेले बताउनुभयो । रासस