२५ माघ २०७२, सोमबार

जनार्दन घिमिरे/तम्घास (गुल्मी । गुल्मीका तीनवटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको क्षेत्रीय कार्य समिति एवम् महाधिवेशन प्रतिनिधि चयन गरिएको छ । शनिबार राति अबेर सम्पन्न निर्वाचनमा क्षेत्रीय सभापतिमा पारिश्वर ढकाल, अशोककुमार थापा र भगतसिंह खड्का निर्वाचित भएका हुन् ।

kangreshflag

जिल्लाको क्षेत्र नं १ मा महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फबाट बेद मगर, द्रोणबहादुर रायमाझी, डा कृष्णबहादुर छन्त्याल, हिरामणि अर्याल, जगदिश भट्टराई र ज्ञानहरि सापकोटा निर्वाचित भएका हुन् ।

त्यसैगरी, क्षेत्र नं २ मा खुल्लातर्फबाट महाधिवेशन प्रतिनिधिका लागि भुवनप्रसाद श्रेष्ठ, चन्द्र केसी, शालिक पन्थी, भरत बस्नेत, मोहन ज्ञवाली र विष्णु बलाल निर्वाचित भएका हुन् । क्षेत्र नं ३ मा खुल्लातर्फबाट छन्द पहराई, त्रैलोक्यप्रताप सेन, प्रेमनारायण भण्डारी, महेन्द्रप्रसाद भण्डारी, रुद्रमणि भण्डारी र दामोदर भुसाल विजयी भएका हुन् ।

त्यस्तै, क्षेत्र नं १ मा महाधिवेशन प्रतिनिधिकालागि भएको निर्वाचनमा महिलातर्फबाट सुवर्ण ज्वारचन र मिनाकुमारी राना, जनजातिबाट मनबहादुर राहडी, दलितबाट टुकबहादुर सार्की र अल्पसङ्ख्यकबाट भानुभक्त सुवेदी विजयी भएका छन् । क्षेत्र नं २ मा महिलातर्फबाट धना भण्डारी, विष्णुकुमारी सापकोटा, जनजातिबाट श्रीप्रसाद भलामी, दलितबाट ईश्वर परियार र अल्पसङ्ख्यकबाट रुद्रबहादुर भुजेल विजयी बनेका छन् ।

क्षेत्र नं ३ मा महिलातर्फबाट सीता अर्याल र पार्वता कुँवर, जनजातिबाट इन्द्रबहादुर घर्ती, दलितबाट कृष्णबहादुर नेपाली र अल्पसङ्ख्यकबाट भीमप्रसाद पोख्रेल विजयी भएका छन् । जिल्लाका तीनवटै क्षेत्रमा खुल्लातर्फबाट महाधिवेशन प्रतिनिधिका लागि निकै प्रतिस्पर्धा भएकोमा केही पुराना नेतादेखि केही प्रभावशाली विद्यार्थी नेतासमेत प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

किरियापुत्रीले चुनाव जिते

महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा गुल्मीमा एक किरियापुत्रीलेसमेत चुनाव जितेका छन् ।

जिल्लाको क्षेत्र नं १ मा खुल्लातर्फबाट महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरेका पत्रकार जगदिश भट्टराई महाधिवेशन प्रतिनिधिमा निर्वाचित बनेका हुन् । उनी आफ्ना बाबुको देहावसान भएको नौ दिनमा किरिया बसिरहेका अवस्थामा शनिबार मतदानस्थलमै पुगेर चुनावमा भाग लिएका हुन् । भट्टराईले खुल्लातर्फबाट सम्मानजनक मत प्राप्त गरेका छन्। रासस

 

LIVE TV