
काठमाडौँ, माघ । नेपाली काँग्रेसको १३ औँ महाधिवेशन अन्तर्गत शुक्रबार ५५ जिल्लाका १९० वटा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रारम्भ भएको छ ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार ती निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्नुसाथै महाधिवेशन प्रतिनिधिको चयन गर्ने प्रक्रिया प्रारम्भ गरिएको हो । केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधिको निर्वाचन उत्साहजनक रूपमा भएको उल्लेख गर्दै एक दुई दिनभित्र निर्वाचन परिणाम सङ्कलन भइसक्ने जानकारी दिनुभयो । हरेक निर्वाचन क्षेत्रबाट १२ जनाका दरले महाधिवेशन प्रतिनिधिको चयन गर्ने प्रावधान काँग्रेसको विधानमा छ ।
तराईका विभिन्न जिल्लाका साथै एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा शुक्रबार क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि निर्वाचन भएन । एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय अधिवेशन गर्नु नपर्ने भएकाले जिल्ला अधिवेशनमै महाधिवेशन प्रतिनिधिको निर्वाचन गरिनेछ ।
निर्वाचन समितिका अनुसार सप्तरी, सिराहा, बारा, पर्सा र धनुषामा क्षेत्रीय अधिवेशन हुन सकेन । बारामा पार्टीको आन्तरिक समस्याकै कारण निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन । जिल्लामा नेपाल शिक्षक सङ्घले खुलेर निर्वाचन गराउन सहमति नजनाएका कारण निर्वाचनको प्रक्रिया अगाडि बढ्न नसकेको हो । तराईको महोत्तरी र रौतहट जिल्लामा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रक्रिया प्रारम्भ गरिएको छ ।
सर्लाहीमा २५ गते क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन गरिने भएको छ । धनुषामा क्षेत्रीय अधिवेशनका लागि छलफल भइरहेको जनाइएको छ । पर्सामा माघ २८ गते निर्वाचन गर्ने कार्यतालिका तय गरिएको छ । सिरहामा ढिलोमा आइतबारबाट क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधिको चयन गरिनेभएको छ । शनिबार जिल्लाको नगरपालिका तहको निर्वाचन भइसकेपछि अन्य निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
तराईका जिल्लामा मधेसवादी दललगायत आन्दोलनकारीको अवरोधले पार्टीको निर्वाचन कार्यक्रममा बाधा नपुगेको काँग्रेसले स्पष्ट गरेको छ । ‘आन्तरिक समस्याले हामी केही स्थानमा अधिवेशन गर्न नसकेको हौँ, आन्दोलनकारीको कुनै अवरोध पार्टीको निर्वाचनमा छैन’, केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले बताउनुभयो ।
महाधिवेशनमा पार्टीले महिला, दलित, आदिवासी जनजातिको प्रतिनिधित्व सुनिश्चित गरेको र युवाको सहभागिता बढेकाले निर्वाचनमा उत्साहजनक सहभागिता भएको जानकारी आफूले पाएको निर्वाचन समितिका सदस्य घिमिरेले बताउनुभयो ।
एक निर्वाचन क्षेत्र भएका तेह्रथुम, सोलखुुम्बु, रसुवा, मनाङ, मुस्ताङ म्याग्दी, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, बाजुरा दार्चुला र डडेलुधुरा समेतका १४ जिल्लामा शुक्रबार महाधिवेशन प्रतिनिधिको निर्वाचन भएन । एक निर्वाचन क्षेत्र भएका यी जिल्लामा क्षेत्रीय अधिवेशन गर्नु नपर्ने भए पनि शुक्रबार नै जिल्ला अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन गर्न निर्देश गरिए पनि कुनै पनि जिल्लाले शुक्रबार अधिवेशन नगरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । ती जिल्लाले पूर्वनिर्धारित कार्यतालिकाअनुसार माघ २५ गते जिल्ला अधिवेशन गर्ने र सोही दिन महाधिवेशन प्रतिनिधिको चयन गर्ने भएका छन् ।
यसका साथै केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधिको चयन सर्वसम्मत हिसाबले भएको निर्वाचन समितिले जनाएको छ । दुईतीन दिनभित्र प्रक्रिया प्रारम्भ गरेका सबै जिल्लाले क्षेत्रीय अधिवेशनको प्रक्रिया पूरा गर्ने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन क्षेत्रमा भएको क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधिको नामावली छिटो माध्यमबाट केन्द्रीय निर्वाचन समितिमा जानकारी गराउन निर्देश गरिएको छ ।- गोरखापत्र