२२ माघ २०७२, शुक्रबार

सरकारले सार्वजनिक यातायातको भाडा घटाउने तयारी गरेको छ । पेट्रोलियम पदार्थको मूल्य घटेकाले त्यसै अनुसार सार्वजनिक गाडीको भाडा समायोजन गर्न लागिएको छ ।
यातायात व्यवस्था विभागले भाडा घटाउने तयारी गरेको हो । भाडा समायोजन गर्न यातायात मन्त्रालयलाई बिहीबार नै घटेको भाडाको दर रेट पेश गरिसकिएको विभागले जनाएको छ । अब मन्त्रालयले निर्णय गरे लगत्तै घटेको भाडा लागू हुनेछ ।


भाडा घटेपनि यात्रुलाई भने खासै राहत नमिल्ने देखिएको छ । सरकारले घटाउन लागेको भाडादर अनुसार काठमाडौं उपत्यकामा भाडा समायोजन हुने छैन । लामो दूरीमा भने एक सय किलोमिटरमा अहिले तिर्दै आएको भाडामा ५ रुपैयाँले मात्र घट्नेछ । पछिल्लो पटक घटेको पेट्रोलियम पदार्थको मूल्य अनुसार वैज्ञानिक भाडादर कायम गर्दा उपत्यकामा न्युनतम भाडा १३ रुपैयाँ ७ पैसा निस्केकाले यात्रुले १३ रुपैयाँले तिर्नु पर्ने विभागले जनाएको छ ।
विभागका अनुसार सार्वजनिक गाडी बाहेक अरु ट्रक, ट्रिपर लगायत ढुवानीका साधनमा पनि भाडा घट्ने छ । यसअघि, विहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले भाडा घटाउन विभागलाई निर्देशन दिएको थियो ।

LIVE TV