
नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधि र देशभरका निर्वाचन क्षेत्रमा क्षेत्रिय समिति चयनका लागि आज निर्वाचन हुँदैछ । कांग्रेसले संविधानसभाको निर्वाचनमा कायम देशभरका दुई सय ४० निर्वाचन क्षेत्रानुसार नै क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्न लागेको हो ।
पार्टीको पूर्वनिर्धारित कार्यतालिका अनुसार देशभरी रहेका ४ लाख ७० हजार भन्दा बढी क्रियाशील सदस्यहरुमध्येबाट निर्वाचित भएर आएका ५५ हजार भन्दा बढी स्थानीय प्रतिनिधि मतदानमा सहभागी हुनेछन् । उनीहरुले २ हजार ८८० महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नेछन् । क्षेत्रीय अधिवेशनमा देशभरीका ३ हजार १ सय ५७ गाविसबाट चुनिएर आएका झण्डै ३८ हजार र २ सय १७ नगरपालिकाका वडाबाट चुनिएर आएका झण्डै १७ हजार प्रतिनिधिको मतदानबाट महाधिवेशन प्रतिनिधिहरुको चयन हुँदैछ ।
पार्टी विधान अनुसार, प्रत्येक निर्वाचन क्षेत्रबाट ६ जना खुला र ५ जना समावेशी प्रतिनिधित्वको आधारमा महाधिवेशन प्रतिनिधिसँगै क्षेत्रीय सभापति गरी १२ जनाको चयन हुनेछ । तराई मधेसमा सप्तरीदेखि पर्सासम्म रहेका ८ जिल्लाका कतिपय गाउँ र नगरपालिकाका वडामा क्षेत्रीय प्रतिनिधि चयन प्रक्रिया नसकिएका कारण त्यी जिल्लाको अधिवेशन हुने क्रम जारी नै छ ।
महाधिवेशन प्रतिनिधिले केन्द्रको नेतृत्व चयन गर्ने भएकाले सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका नेता कार्यकर्ता आआफ्ना पक्षमा निर्वाचन परिणाम ल्याउन सक्रिय रूपमा लागेका छन् ।