
स्वभाविक रुपमा शहरबजार भन्दा गाउँघरहरु निकै स्वच्छ र हराभरा हुन्छन् । त्यसमा पनि हिजोआज गाउँगाउँमा होमस्टे सँगै आन्तरिक पर्यटकहरुको ओइरो लाग्न थालेपछि स्थानीयहरु आफ्नो गाँउँको सरसफाइमा जुट्न थालेका छन् । अन्नपूर्ण पदमार्ग अन्तर्गतको लमजुङको ताघ्रिङ गाउँका स्थानीयहरु पदमार्गमा आउने पर्यटकलाई भित्र्याउन सफा घर अभियानमा जुटेका हुन् । गाउँमा स्थापना भएका होमस्टेहरुमा आन्तरिक पर्यटकहरुको आगमन हुन थालेपछि हैसिएका स्थानीयरु आफ्नो गाउँको सफाइमा आफैं जुट्न थालेका हुन् । गाउँमा ‘आरसिडिसी सुआहारा’ सरसफाई कार्यक्रम लागू भएपछि गाउँलेहरुमा चेतनाको विकाससँगै गाउँघर थप स्वच्छ र हराभरा हुन थालेको हो । कुल ५ सय २१ घरधुरी रहेको ताघ्रिङ गाविसका २ सय ८१ वटा घरहरु अहिले पूर्ण सरसफाईयुक्त भइसकेका छन् । अन्नपूर्ण पदमार्गमा रहेको यो गाविसका सबै गाउँ पहिलेदेखि नै अन्य गुरुङ गाउँहरुभन्दा सफा गाउँ भएपनि गाउँमा अशिक्षा र अज्ञानता भएका कारण अझै जनचेतनाको आवश्यकता रहेको गाउँलेहरु बताउँछन् । जिल्लाका सबै गाविसहरुमा पोषण तथा सरसफाईको काम गर्दै आएको सुआहारा संस्था गिलुङ गाउँको सरसफाई गर्ने अभियानमा जुटेपछि गाउँ सरसफाईयुक्त भएको बताउनुहुन्छ स्थानीय सुन्च्यो गुरुङ । उहाँले विगतमा गाउँमा केही समस्या भए पनि अहिले पूरै गाउँ निकै सुन्दर भएको बताउनुभयो ।
अहिले गाउँमा सरसफाईका दशवटा मुख्य सुचकहरु पुरा गरी आफ्नो घरलाई सफा घर बनाउने अभियान गाविसका ९ वटै वडाहरुमा सञ्चालन भैरहेको छ । विगतमा धेरै रोग लागेर आत्तिएका गाउँलेहरु अहिले सुखी र स्वस्थ जीवन जीउन पाएकोमा दंग छन् । गाउँलेहरु आफ्नो ब्यक्तिगत सरसफाईदेखि खानेकुरा पकाउने, शौचालय र घर वरीपरिको सरसफाईमा समेत तल्लिन रहँदै आएका छन् । यसका साथै ताघ्रिङ गाउँका स्थानीयहरु अहिले एक घर एक धाराको अभियानमा समेत लागिपरेका छन् ।