२० माघ २०७२, बुधबार

सरकारले आम सञ्चार माध्यमलाई व्यवस्थित गर्न उच्च स्तरिय समिति गठन गरेको छ । कानुन तथा सञ्चार विज्ञ काशीराज दाहालको अध्यक्षतामा तीन सदस्यीय उच्च स्तरीय समिति गठन गरिएको हो । बुधबार बसेको मन्त्रिपरिषद बैठकले गठन गरेको उच्च स्तरीय समितिका अन्य सदस्यहरुमा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्की र नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टलाई तोकिएको छ । समितिलाई सञ्चार सम्बन्धी नियमहरुको पुनरावलोकन गरेर बिद्यमान संविधान अनुकुल हुने गरी नीति तर्जुमा गर्ने जिम्मेवारी दिइएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

सरकारले गठन गरेको उक्त समितिलाई श्रमजीवि पत्रकार ऐनको कार्यान्वयनका लागि सहज हुने गरी मस्यौदा बनाउने जिम्मेवारी पनि दिइएको छ । समितिको कार्यावधि ३ महिनाको हुनेछ । त्यस्तै, मन्त्रिपरिषद बैठकले चीनको शिचुवानमा नेपाली राजदुतावास स्थापना गर्ने निर्णय पनि गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलको यही माघ २५ गते देखि हुने भनिएको भारत भ्रमणको विषयमा पनि बुधबारको मन्त्रिपरिषद बैठकमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV