२० माघ २०७२, बुधबार

आन्दोलनमा जनाधार गुमाउँदै गएपछि मधेसी मोर्चाका नेताहरुले आन्दोलन चर्काउने बिभिन्न उपायको अवलम्बन गर्न थालेका छन् । तर उनीहरुले प्रयोग गरेको पछिल्लो उपायले भने पूरै देशलाई झस्काएको छ , तर्साएको छ । भारतीय राजनीतिमा मजाकको पात्रकोरुपमा लिइने विहारी नेता लालु यादवको शरणमा पुगेका मधेसी मोर्चाका नेताहरुले मुलुकलाई के सन्देश दिन खोजेका हुन् , त्यो ढिलोछिटो प्रष्ट होला नै । तर असमान्य लाग्ने यो कदमले अब मधेस आन्दोलनमा लालुका लडाकुहरु भित्रयाउने संकेत भने दिएको छ । यो तस्बिरमा वेतको कुर्सीमाथि शानले वसेका मानिस हुन्, भारतको बिहार प्रदेशका पूर्वमुख्यमन्त्री लालूप्रसाद यादव । भारतीय राजनीतिमा हाँस्य पात्रको रुपमा बढी उभ्याइने लालु विहारबाट नै पत्तासाफ हुने अवस्था नजिक पुगेपछि केन्द्रको राजनीतिलाई टक्कर दिन आफ्नै क्षेत्रीय दुष्मन नितिशकुमारसंग गला जोडेपछि विहारमा एकपटकलाई बचेका छन् । यिनै, लालुका अगाडि लस्करै प्लास्टिकको कुर्सीहरुमा निरीहझंै वसेका मानिसहरु हुन्, नेपालको मधेशमा आन्दोलनरत मधेशी मोर्चाका मुख्य नेताहरु ।

यो तस्बिर हेर्दा लाग्छ, नेपालका नेताहरु लालूसँग केही माग्न गएका हुन् र लालु ठालू पारामा केही दिने मान्छे हुन् । नेपाल सरकारले वा नेपालको नयाँ संविधानले बेवास्ता गरेको भन्दै आन्दोलन गरिरहेका मधेशी नेताहरु यसरी भारतको एक प्रदेशका पूर्वमुख्यमन्त्रीसामू करिब लम्पसार पर्दै सहयोगको याचना गर्नुले स्वाभिमानी नेपाली नागरिकको मन चिडिएको छ । र मधेशी नागरिकले पनि आफूमाथि नेताहरुले गम्भीर घात गरेको बुझेका छन् । पछिल्लो समय दिनानुदिन मधेश आन्दोलनको पाईन खिँइदै गएको बेला यसरी मधेसी मोर्चाका नेताहरुले बिहारमा पुगेर नेपालको संविधान तथा सार्वभौमविरुद्ध अभिव्यक्ति दिएको र आन्दोलनमा भौतिक सहयोग मागेको न्यूज भारतीय संचारमाध्यमहरुले प्राथमिकताका साथ प्रसारण गरेका छन् । जुन नेपालको राष्ट्रिय हितका लागि मात्रै नभई मधेसवादी नेताहरुकै हितविपरित छ । लालूसँग सहयोगको याचना गर्न जाने मधेशी नेतामध्येका एक, उपेन्द्र यादव नेपालका पूर्वउपप्रधानमन्त्री एवं पूर्वपरराष्ट्र मन्त्री हुन् । उनी मधेसका मात्रै नभई देशकै नेता हुन् । तर यो लम्पसारले उनको राजनीतिक कद काटेको छ । उनी पुड्को भएका छन् । यो भेट कुटनीतिक मर्यादाका हिसाबले पनि आपत्तिजनक छ । देशको पूर्वउपप्रधानमन्त्री मर्यादाबाट स्खलितहुँदै एक जना विदेशको प्रान्तीय नेताको शरण पर्दा सबै स्वाभिमानी नेपाली शीर नुरेको छ । चित्त दुखेको छ । मधेशी मोर्चाका नेताहरुको अनुनय विनय अनुरोधमा बिहारका नेताहरुले नेपालको संविधान र सार्वभौमिकतामाथि धावा बोलिरहेका छन् । मधेशी मोर्चाका नेताहरु त्यसैमा मख्ख छन् । जसलाई यो दृश्यले पुष्टि गरिदिन्छ । यस्ता गतिविधिले मधेश आन्दोलप्रतिको सहानुभूति पनि क्रमशः कमजोर हुँदै गइरहेको छ र मधेशका नागरिक, जो आफ्नो मुक्तिका लागि भन्दै छात्तिमा गोली थाप्न तयार भएर आन्दोलनमा उत्रिएका छन्, उनीहरुको भावनामामाथि चोटिलो प्रहार भएको छ, घातक खेलबाड भएको छ । अधिकारका लागि गरिएको भनिएको आन्दोलन सफल बनाउँन नेपाल सरकारसँग टाढिएर भारतीय नेताकासामू आन्दोलनमा सहयोग गरिदिनुपर्यो भनेर निहुरीमुन्टी लगाउँनुले मधेशी मोर्चाका केही कोरा नेताहरुको नियतमाथि गम्भीरभन्दा गम्भीर शंका उत्पन्न भएको छ । र, मधेश आन्दोलनमा भारतीयसाथ रहेको शंकालाई पनि मोर्चाका नेताहरुको पछिल्लो गतिविधिले करिब प्रमाणित गरिदिएको छ । मोर्चाका नेताले नेपाली स्वाभिमान गिराएको भन्दै नेपालका नेता, पत्रकार, विश्लेषकसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले त्यसको चर्को आलोचनात्मक टिप्पणी गरेका छन् । यसरी कडा आलोचनाको सामना गरिरहेका मधेशी मोर्चाका नेताहरुले भने सहजै भनेका छन्, यो त नेपालको राजनीतिक परम्परा नै हो, भारत त हाम्रो ससुरालीजस्तै हो, किन जान नपाउँने ? सार्वभौम देश नेपालको सार्वभौम संविधानसभाबाट जारी भएको संविधानप्रति असहमति राख्दै छिमेकी देश भारतले निर्ममतापूर्वक लगाएको नाकाबन्दीलाई मधेशी मोर्चाका नेताहरुले मलजल गरिदिए । जसकारण अहिले समग्र देश र आमनागरिकको दैनिकी अतिजर्जर बनेको छ । आन्दोलन भइरहेको मधेशकोस्थिति झन् कारुणिक छ, दर्दनाक छ । तर, मोर्चाका नेताहरु भने यसरी खुलेआम भारतीय नेताको पाउ मोलिरहेका छन् । किन विकृत बन्दै छ राजनीति ? के देश नेपाल सरकारको नियन्त्रणबाहिर गएको हो ? प्रश्न अतिजटिल र पेचिलो बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV