उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापाले सरकार स्थानीय निकाय निर्वाचन गराउँन अन्तिम तयारीमा पुगेको बताउँनुभएको छ । उहाँले स्थानीय निकायलाई जनप्रतिनिधिका हातमा सुम्पिनका लागी तयारी अबस्थामा बस्नका लागि स्थानीय बिकास अधिकारीहरुलाई निर्देशन समेत दिनुभएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपालगन्जमा आयोजना गरेको मध्यपश्चिमाञ्चल स्तरीय आर्थिक बर्ष २०७१÷०७३ को अर्धबार्षिकी प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थापाले स्थानीय निकायमा १ दशक सम्मको जनप्रतिनिधि विहीनताको अबस्थाको अब अन्त्य हुने बताउनुभयो । जनप्रतिनिधिको विहीनताको अबस्थामा पनि स्थानीय निकायका कर्मचारीहरुले जनतालाई कुनै अभाव महसुस हुन नदिएको प्रति खुसी प्रकट गर्दै मन्त्री थापाले स्थानीय निकायको निर्वाचनपछि स्थानीय निकायका कर्मचारीहरुलाई दोहोरो भूमिकामा बस्नुपर्ने अवस्था नरहने बताउनुभयो ।स्थानीय निकायको निर्बाचनका लागि सरकारले गृहकार्य शुरु गरिसकेको जानकारी दिँदै उपप्रधानमन्त्री थापाले संविधानले राज्यको पुर्नसंरचनाको मर्म अनुसार स्थानीय निकायहरुको पुर्नसंरचना गर्नका लागि संबिधानमा व्यवस्था भए बमोजिम फागुनको पहिलो साताभित्र स्थानीय निकाय पुर्नसंरचना आयोग गठन गरिसक्ने जानकारी दिनुभयो । आयोगले १ बर्ष भित्रमा स्थानीय निकायको पुर्नसंरचनाबारे प्रतिबेदन बुझाए लगत्तै त्यसलाई कार्यान्वयन प्रक्रियामा लैजाने उहाँले उल्लेख गर्नुभयो । थापाले संबिधान जीवन्त र गतिशील दस्ताबेज भएकोले समय परिस्थिति र जनताको आवश्यकता अनुसार परिमार्जन हुने बताउनुभयो ।