२० माघ २०७२, बुधबार

संविधान संशोधनपछि नाकाबन्दी खुल्छ भनिएपनि वीरगञ्ज नाका अझै ठप्प छ । नाकामा धर्नाकारी पनि छैनन् । आन्दोलन पनि छैन । आन्दोलन गर्दै आएका मधेसी मोर्चाका धेरै नेताहरु आन्दोलनको स्वरुप परिवर्तन गर्ने पक्षमा छन् । मोर्चाका शीर्ष नेताहरु चाहिँ अझै आन्दोलनलाई बल पु¥याउन भारतका केही नेतासँग हारगुहार गर्दैछन् ।
पहिलेजस्तो अव आन्दोलन सशक्त हुन सक्दैन भन्ने मधेसी मोर्चाका नेताहरुले राम्रोसँग बुझेका छन् । त्यही भएर उनीहरु आन्दोलनको स्वरुप परिवर्तन गर्ने बताइरहेका छन् । यस्तोबेला नाकाबन्दी खुलाउनको लागि पहल गर्नुको सट्टा मुख्य दलका नेता आआफ्नै स्वार्थमा लागेका देखिन्छन् । पाँच महिनाभन्दा लामो आन्दोलनको समाधान खोज्न दर्जनौं पटक भएका वार्ता नेताहरुकै भनाईमा सहमतिको नजिकै पुग्दै भाँडिदै गरेका छन् । माघ ७ गतेदेखि त त्यही पनि हुन सकेको छैन । मोर्चाका ११ मध्ये अरु मागमा लगभग कुरा मिले पनि प्रदेशको सीमांकनको विषयमा कुरोको चुरो अड्किएको छ ।

र यो विषयमा न त ठुला दल सजिलै सहमत हुने देखिन्छ न त आफ्नो प्रतिष्ठाको विषय बनाएको मोर्चामा नै यो मागबाट पछि हट्ने संकेत भेटिन्छ । वार्ता र छलफलको नाममा दुवै पक्षले आआफ्नै रणनीति पूरा गर्न खोजिरहेको टिप्पणी पनि हुन थालेको छ । सत्तारुढ दल एमाले र एकीकृत नेकपा माओवादीले विभिन्न बहानामा आन्दोलन मथ्थर पार्न चाहन्छन् । र प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि नै कुनै न कुनै रुपमा मोर्चाको आन्दोलन फिर्ता गराउन खोजिरहेका छन् । नेपाली कांग्रेस काठमाडौंबाट वार्ता भएको सन्देश दिएर महाधिवेशनमा मोर्चाले गरेको अवरोध पन्छाउन चाहन्छ । मधेसी मोर्चा भने लामो आन्दोलनका कारण कार्यकर्तामा छाएको निराश हटाउना र शक्ति सञ्चय गर्ने दाउमा छ । आन्दोलन र नाकाबन्दीका कारण उकुसमुकुस भएका नागरिक भने स्वार्थ त्यागेर समस्या समाधानमा गम्भीर हुन दुवै पक्षलाई आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV