१९ माघ २०७२, मंगलवार

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका केही नेताहरु भारतको विहार र उत्तर प्रदेश राज्यका प्रमुख नेताहरुसंग भेटघाटमा व्यस्त छन् । मधेसी नेताहरुको यस्तो कदमले नेपालको राजनीतिमा वाह्य शक्तिलाई अनावश्यकरुपमा हस्तक्षेपको लागि गरिएको याचना भन्दै यतिखेर नेपालको राजनीतिमा तरङ्ग उत्पन्न भएको छ । त्यसमाथि विहारका चर्चित नेता लालु यादवसंग गरिएको याचना त झनै विवादास्पद बनेको छ । सामाजिक सञ्जालमा कुटनीतिक मर्यादा र स्वाभिमान भुलेको भन्दै नेताहरुको तिब्र आलोचना गरिएको छ । यो तस्विर हेर्नहोस् । यो तस्वीर हेर्ने जोकोही नेपालीको शीर लज्जाले निहुरिन्छ । मुलुकको स्वाभिमान, प्रतिष्ठा र स्वतन्त्रतालाई नै खिल्ली उडाउने यो तस्वीरले नेपालको राजनीतिक निकासमा थप जटिलता थप्ने निश्चित छ । यो तस्वीरमा तराई मधेसमा आन्दोलनरत मोर्चाका प्रमुख नेताहरु राजेन्द्र महतो, उपेन्द्र यादव, महेन्द्र राय यादव लगायतका नेताहरु शिष्य जस्तै गरी लालु यादवसंग याचना गरिरहेका छन् । लालुले प्रवचन दिईरहेका छन् । यो तस्विर सार्वजनिक हुने वित्तिकै नेपालमा सामाजिक सञ्जालहरु कडा टिप्पणीहरुले भरिए । त्यतिमात्र होईन वर्तमान सरकारका एक उपप्रधानमन्त्रीले त उक्त तस्विरले स्वाभिमानी नेपाली कोही पनि खुशी हुने अवस्था नरहेको ट्वीटरमा उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरुको निचोड हो–घरेलु राजनीतिमा अवाञ्छित किसिमले विदेशीलाई गुहार्दा त्यसले अन्तत्वगत्वा लोकतन्त्र र मुलुक दुवैलाई जटिल अवस्थामा पुर्याउछ । नेपालले पछिल्लो १५ बर्षमा अनुभव गरेको राजनीतिक शिक्षा पनि त्यहि हो । तर मोर्चाका एक नेता भने भारतीय नेताहरुसंगको भेटलाई स्वभाविक भएको बताउँछन् ।

मोर्चाको आन्दोलनमा तराईवासीको उल्लेख्य समर्थन नजुटेपछि र मोर्चालाई भारतले देखाएको नाजायज सहानुभुतिले अन्तत्वगत्वा मोर्चाकै आन्दोलनलाई कमजोर र शिथिल बनाएको विश्लेषण हुन थालेको छ । जतिसुकै निर्णायक आन्दोलन भनेर घोषणा गरिएपनि तराई मधेसका जनताको खास समर्थन र सहभागिता नभएपछि शिथिल बन्दै गएको मधेस आन्दोलनलाई मोर्चाका प्रमुख नेताहरुको दिल्ली भ्रमणवाट समर्थन जुट्न नसकेपछि समापन उन्मुख हुँदै गएको छ । त्यसैले राजनीतिक रुपमा नाक जोगाउँन मोर्चाका नेताहरु अहिले नेपालको सीमा जोडिएका भारतीय प्रान्तहरु विहार र उत्तर प्रदेशमा सहयोगको लागि भन्दै उत्ताउलो याचन गर्न लागिपरिरहेका छन् । नेपाल लोकतान्त्रिक मुलुक हो । यहाँका सवै राजनीतिक शक्तिहरु संवाद र वृहत छलफलवाट जस्तोसुकै राजनीतिक जटिलताको निकास खोज्न सक्षम र तयार रहेको अवस्थामा वार्ता प्रक्रियालाई थाती राखेर मोर्चाका नेताहरुवाट मुलुकको स्वाभिमानमाथि नै आँच आउने गरी गरिएको क्रियाकलाप जिम्मेवार राजनीति हुन नसक्ने धेरैको निचोड छ । अव आन्दोलन पनि जनताको लागि कष्टप्रद भईसकेको छ । यस्तो अवस्थामा संवादवाट नै सवै समस्याको हल खोज्नु जरुरी छ । विदेशी शक्ति गुहारेर वा याचना गरेर निकास खोज्न लागियो भने यसले अन्तत्वगत्वा लोकतन्त्र र मुलुकको स्वाभिमानलाई नै अप्ठ्यारो अवस्थामा पुर्याउने छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV