
गत शुक्रबारदेखि आइसीएफसी फाइनान्सको हकप्रदबाट नउठेको झण्डै ४ लाख कित्ता शेयरका लागि लगानीकर्ताले लिलाम बढाबढमा आवेदन दिइरहेका छन् । फाइनान्सले ३ लाख १८ हजार ७ सय ७१ कित्ता संस्थापक तथा ६० हजार ९ सय ३ कित्ता साधारण शेयर लिलाम गरेको हो । आइसीएफसी फाइनान्सले १६ प्रतिशत संस्थापक शेयर साधारणमा रुपान्तरण गर्ने तयारीमा समेत जुटेको छ र लिलामको बाँडफाँट माघ २२ गते शुक्रबार नै गर्ने तयारी गरिएको फाइनान्सले जनाएको छ । चालु आर्थिक बर्षको पुष मसान्तसम्म आइसीएफसी फाइनान्सले चार करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गतबर्षको भन्दा फाइनान्सको नाफा करिब ३६ प्रतिशत अर्थात एक करोड नौ लाख रुपैयाँले बढेको छ । गतआर्थिक बर्षमा ३ करोड ६ लाख रुपैयाँ फाइनान्सले आम्दानी गरेको थियो ।
कम्पनीको ब्याज आम्दानीमा भएको सुधारले नाफामा वृद्धि भएको हो । यसअवधिमा फाइनान्सले ९ करोड ९९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गतबर्ष ८ करोड १३ लाख रुपैयाँ मात्र आम्दानी फाइनान्सले गरेको थियो । यद्यपी गतबर्षको तुलनामा ब्याज खर्च सामान्य बढेको छ भने संचालन आम्दानी फाइनान्सले उल्लेखनीय मात्रामा बढाएको छ । कम्पनीको जगेडाकोषमा १९ करोड ७२ लाख रुपैयाँ जम्मा भएको छ । जुन गत वर्ष भन्दा ७ करोडले बढि हो । गत आर्थिक वर्षको खुद नाफाबाट साढे १० प्रतिशत बोनस दिने प्रस्ताव गरिसकेको फाइनान्सले लिलामका शेयरधनीलाई पनि ७ प्रतिशतको दरले बोनस दिने निर्णय गरेको छ । लिलामबाट शेयर खरिद गर्नेले दाहोरो फाइदा पाउने भएपछि लिलामीको शेयरमा समेत लगानीकर्ताको आर्कषण देखिएको हो ।