अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्प पीडितलाई वितरण गर्ने त्रिपाल खरिदमा भ्रष्टाचार भएको भन्दै काठमाडौंका स्थानीय विकास अधिकारी तिर्थराज भट्टराईसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले स्थानीय विकास अधिकारी भट्टराई, लेखा अधिकृत यामनारायण शर्मा, स्टोरकिपर चिरञ्जिवी खड्का, पशुपति ट्रेड एन्ड सप्लायर्सका सन्चालक मिथिलेश्वर तिवारी, दिपेश इन्टरप्राइजेजका झम्कप्रसाद गौतम र सेविका इन्टरप्राइजेजका होमप्रसाद गौतमविरुद्ध मंगलवार मुद्दा दायर गरेको हो । अख्तियारले भट्टराई, शर्मा र खड्काबाट समान ३५ लाख ६ हजार ६२६ रुपैयाँ तथा मिथिलेश्वर, झम्क र होमबाट क्रमशः २२ लाख ३४ हजार ६६९, ८ लाख ९३ हजार २७७ र ३ लाख ७८ हजार ६८० रुपैयाँ विगो रकम दाबी गरेको छ । उनीहरुले बढी गुणस्तर, परिमाण र साइज उल्लेख गरी कम गुणस्तर, परिमाण र साइजको त्रिपाल खरिद गरी वितरण गरेको बैज्ञानिक परीक्षण समेतबाट प्रमाणित भएको अख्तियारले जनाएको छ । भन्सार छुट सुविधामा आपूर्ति भएका त्रिपालहरूको भन्सार शुल्कसमेत दाखिला गरी आयात गरेका त्रिपालको भन्दा पनि चर्को मूल्य (प्रति वर्ग फिट १२ रुपैयाँ) कायम गरी खरिद गरेको पाइएको छ । यस्तै भारतबाट ३ लाख २८ हजार १६ रुपैयाँमा आयात भएको त्रिपाललाई ४३ लाख ७९ हजार ७४५ रुपैयाँ कायम गरी खरिदबिक्री गरेको पाइएको अख्तियारले जनाएको छ । आम नागरिकको सरोकार र हितसँग जोडिएको भूकम्प पीडितहरूको राहत सम्बन्धमा भए गरेका अनियमितता र भ्रष्टाचारका अन्य उजुरीहरूलाई पनि तदारूकताका साथ अनुसन्धान कार्य अघि बढाईएको अख्तियारले जनाएको छ ।