
औषधीजन्य पदार्थलाई लागूऔषधको रुपमा प्रयोग गर्ने प्रचलन बढ्दै गएको भन्दै नियन्त्रणका लागि अन्तरदेशीय सहकार्य आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । दिनप्रतिदिन दक्षिण एशियाली मुलुकहरुमा लागूऔषध प्रयोगकर्ताहरुको वृद्धि भैरहेको भन्दै उनीहरुले सर्वपक्षीय सहकार्य गर्न आवश्यक रहेको बताएका हुन् ।
वेरोजगार युवाहरुमा उत्सुकता र दवाबका कारण लतमा फस्दै गैरहेको भन्दै लागूऔषध नियन्त्रण अधिकृत रामेश्वर दंगालले उनीहरु जघन्य अपराधउन्मूख भइरहेको बताउनुभयो । दक्षिण एशियाली मुलुकहरुको सहज सीमाको कारण प्रयोगकर्ताहरुको वृद्धि भैरहेको उनीहरुको निष्कर्ष छ । अधिकृत दंगाल नियन्त्रणका लागि अन्तरदेशीय सहकार्य आवश्यक रहेका बताउनुभयो । काठमाडौमा सम्पन्न दक्षिण एशियामा लागूऔषधसम्वन्धी कानुनको प्रभावकारिता विषयक छलफलमा विज्ञहरुले खुल्ला नाका र औषधीहरुको सहज उपलब्धताको कारण लागूऔषध प्रयोगकर्ताहरुको वृद्धि भएको बताएका हुन् । विभिन्न प्रकारका औषधीहरुलाई मिश्रण गरी लागूऔषधमा परिणत गर्ने र सेवन गर्ने अभ्यास भैरहेको भन्दै यसले विकराल रुप लिनसक्ने उनीहरुको भनाई छ । गृहमन्त्रालय अन्तर्गतको लागूऔषध शाखा र युएनले संयुक्त रुपमा आयोजना गरेका कार्यक्रममा दक्षिण एशियाली मुलुकहरुको औषधी उत्पादन कम्पनीहरु, मेडिकल एशोसिएशन, सुरक्षा निकायलगायत विभिन्न पक्षहरुको सहभागीता रहेका थियो ।