
इंग्लिस क्लब म्यानचेस्टर सिटीको प्रशिक्षकको जिम्मेवारी पेप गार्डिवलले सम्हाल्ने भएका छन् । गार्डिवलाले सिटीसँग तीन वर्षको सम्झौता गरेका छन् । अहिले जर्मन क्लब बार्यन म्युनिखका प्रशिक्षक रहेका गार्डिवलले आउँदो सिजनदेखि म्यानचेस्टर सिटीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका हुन् । बार्सिलोनाका पूर्व प्रशिक्षक समेत रहेका गार्डिवललाई सन् २०१२ देखि नै क्बलमा ल्याउन प्रयास गरिएको भएपनि अहिले आएर मात्रै सफल भएको म्यानचेस्टर सिटीले जनाएको छ । ४५ वर्षका गार्डिवलले सिटीका अहिलेका प्रशिक्षक म्यानुएल पेलग्रिनीलाई प्रतिस्थापन गर्ने छन् । पेलग्रिनीले आउँदो जुनको अन्तिममा सिटी छाड्ने छन् । म्यानचेस्टर सिटीले एक वक्तव्य निकालेर ६२ वर्षका पेलेग्रिनी क्लबको निर्णयमा पूर्ण रुपमा सहमत रहेको र उनले निर्णयमा सहयोगी भूमिका निभाएको जनाएको छ । सन् २०१३ मा स्पेनिस क्लब मालागाबाट सिटी आएका पेलेग्रिनीले सन् २०१३÷०१४ को सिजनमा सिटीलाई प्रिमियर लिग तथा लिग कप फुटबलको उपाधि जिताएका थिए । पेलग्रिनीले सिटीको प्रशिक्षकको रुपमा प्रिमियर लिगका ९९ खेलमा ६४ जित दिलाएका छन् । प्रिमियर लिगमा कुनै पनि क्लबको प्रशिक्षकको रुपमा धेरै खेल जिताउनेमा उनी दोस्रो स्थानमा छ । पहिलो स्थानमा चेल्सीका पूर्व प्रशिक्षक जोसे मोरिन्हो छन् । मोरिन्होले लिगका ९९ खेलमा ७३ मा क्लबलाई जिताएका थिए ।
पेलग्रिनीको प्रशिक्षमा सिटी अहिले राम्रो अवस्थामा छ । सिटी लिग कप फुटबलको फाइनलमा पुगेको छ भने प्रिमियर लिगमा पनि दोस्रो स्थानमा छ । आफूले क्लबसँग कुरा गरेरै सम्झौता अघि नबढाउने निर्णय भएको उनले बताएका छन् । सिटीको नयाँ प्रशिक्षकका रुपमा आउन लागेका गार्डिवलाले विभिन्न लिगमा प्रशिक्षकमा रुपमा रहेका दुई सय ३९ खेलमा १९ वटामा मात्रै क्लबलाई जिताउन सकेका छैनन् ।