
कैलालीका नदीमा बर्खायाममा देखिने डल्फिनको वैज्ञानिक रुपमा गणना गर्ने पहल थालिएको छ । निजी क्षेत्रको डल्फिन संरक्षण केन्द्र थापापुरको पहलमा डल्फिनको वैज्ञानिक रुपमा गणना गर्न लागेको हो । केन्द्रका सचिव विजय श्रेष्ठ र कैलालीमा पाइने डल्फिन संरक्षणमा लागेकी अमेरिकी संरक्षणप्रेमी श्रीमती सारा लेविनले भारतको पटनादेखि भागलपुरसम्म पर्ने गङ्गा नदीको भागमा डल्फिनको वैज्ञानिक गणनासम्बन्धी दक्षता हासिल गरिसकेको बताइएको छ । गणनामा भारतको पटना विश्वविद्यालय र भागलपुर विश्वविद्यालय विहारका प्राध्यापकले समेत सहयोग गर्न लागेको श्रेष्ठले बताउनुभयो । उहाँले आगामी असारदेखि असोज महिनासम्ममा कैलालीका नदीमा देखिने डल्फिनको गणना गरिने जानकारी दिनुभयो । पानीमा उफ्रिएको अवस्थामा झन्डै सात वर्षअघि गरिएको गणनाबाट कैलालीका नदीमा १ सय ३० वटासम्म डल्फिन पाइएको दाबी संरक्षण केन्द्रको छ ।
अन्तराष्ट्रिय प्रकृति संरक्षण सङ्घ आइयुसिएनले डल्फिन संरक्षणका लागि हालै केन्द्रलाई आर्थिक सहयोग गर्नेबारेमा एक सम्झौता पनि गरेको छ । यो सहयोगबाट स्थानीय बासिन्दाका साथै विभिन्न विद्यालयका विद्यार्थीमाझ डल्फिन संरक्षणसम्बन्धी चेतानामूलक कार्यक्रम सञ्चालन गर्न लागिएको छ । कैलाली जिल्लाको मोहना, काँन्द्रा, पथरैया, गौरी नाला, कर्णाली लगायतका नदीमा बर्खायाममा गेङ्गटी प्रजातिको डल्फिन पाइने गरेको छ । गेङगटी प्रजातिको डल्फिन विश्वमा नेपाल, उत्तर भारत र बङ्गलादेशमा मात्र पाइने गरेको बताइन्छ । मानिस पछिको देस्रो चेतनशील प्राणी डल्फिनलाई मानिन्छ । डल्फिनले पानीभित्रै बच्चा जन्माउने र सुतेको बेला पनि घुमिरहने स्वभावका हुने संरक्षणप्रेमी बताउँछन् । डल्फिनको बासस्थान वरिपरिको पानी निकै शुद्ध हुन्छ भन्ने विश्वाससमेत रहेको छ ।