१८ माघ २०७२, सोमबार

आयोडिनको कमीका कारण बालबालिकाहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरु देखिने गरेको छ । शरीरको विकासका लागि तरकारी पाकेपछि मात्र नुन हाल्न र दुई बालबालिका चिह्न भएको नुन मात्र प्रयोग गर्न चिकित्सकले आग्रह गरेका छन् । तरकारी पकाउँदा पकाउँदै नुन हाल्दा आयोडिनको मात्रा नष्ट हुने हुँदा पाकेपछि आवश्यक मात्राको नुन प्रयोग गर्न उनीहरुको सल्लाह छ । स्वास्थ्य मन्त्रालय, बालस्वास्थ्य महाशाखाले नुनको महत्वबारे जानकारी दिन सोमबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा ढिके तथा खुला नुनको प्रयोग नगर्न आग्रह गरेको छ । थाईराईड हार्मोन विकाशका लागिपनि आयोडिनको आवश्यक पर्ने बैज्ञानिक रुपमा नै पुष्टि भईसकेको छ । यद्यपी आयोडिनको कमीका कारण मानव स्वास्थ्यमा पर्नसक्ने असरका विषयमा ज्ञान नहुँदा विभिन्न खालको स्वास्थ्य समस्या देखा परेको सरोकारवालाहरुको भनाई छ । शरीरका लागि आवश्यक पर्ने आयोडिनका लागि आयो नूनको सेवन नै उपयुक्त हुने उनीहरुले बताएका छन् । विशेष गरी गर्भवती आमाले आयोडिनयुक्त खानेकुराको सेवन गर्नुपर्छ । आयोडिनको कमी भएमा गर्भाशयमा भएको भ्रुणको विकाशमा असर पर्छ । जसले गर्दा जन्मिएका शिशुहरु बामपुड्के, शुष्त मनस्थिति जस्ता समस्याहरु देखा पर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा पुष्पा चौधरीले जानकारी दिनुभयो ।

थाईराईड हार्मोन शरिरको विकाशका लागि अत्यावश्यकीय हार्मोन हो । चिकित्सकहरुका अनुसार थाईराईड हार्मोन दुई किसिमको हुन्छ । हाईपो थाईराईड र हाईपर थाईराईड । हाईपो थाईराईडको समस्या भएको गर्भवती आमाले औषधि सेवन गरेमा आयोडिनको कमी हुने चौधरीको भनाई छ । आयोडिन नुनको महत्वबारे सुसूचित गर्न स्वास्थ्य मन्त्रालयले (माघ÷फागुन) महिनालाई आयोडिन महिना मनाउन लागेको छ । विश्व स्वास्थ्य सङ्गठन, राष्ट्र संघीय बालकोषको आग्रहमा मन्त्रालयले सन् २००० देखि फेब्रुअरी महिनालाई आयोडिन नुन महिनाका रुपमा मनाउँदै आएको छ । । महिनाभर विशेषगरी दुई बालबालिका चिह्न अङ्कित नुनको उपभोग गर्न समुदायलाई उत्प्रेरित गर्न कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ । सरकारी तथ्याङक अनुसार दुई बालबालिका चिह्न भएको नुन मात्र प्रयोग गर्नेको सङख्या ८० प्रतिशत मात्र रहेको छ । गर्भावस्थादेखि २ वर्षको उमेरसम्म मानिसको दिमागको ८० प्रतिशत विकाश भईसकेको हुन्छ । त्यसैले यस समयमा शरीरमा आयोडिनको कमी भएमा मानसिक तथा शारीरक विकासमा अवरोध आउँछ ।

LIVE TV