१७ माघ २०७२, आईतवार

जंगलको बीच बाटोमा हतियार देखाई लुटपाटमा संलग्न दुई जना लुटेरालाई धरान प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरुले धरान र भरौल गाविसको बीचमा पर्ने चारकोशे झाडीको जंगलमा साइकल तथा मोटरसाइकलमा हिड्ने व्यक्तिहरुलाई हातहतियार तथा नक्कली पेस्तोल देखाई लुट्पाट गर्ने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धरान २२ का ३८ बर्षीय पूर्णबहादुर मगर र तेह्रथुम सम्दु गाविस ३ घर भइ हाल धरान उपमहानगरपालिका वडा नंं ८ बस्ने बर्ष ३८ को सागर भनिने पदमसिंह चेम्जोङ रहेका छन् । उनीहरुलाई धरान प्रहरीले शनिवार सार्वजनिक गरेको हो । उनीहरुलाई धरान १५ स्थित सामुदायिक वनको वीच बाटोमा हतियारसहित बसिरहेको अवस्थामा माघ १४ गते पक्राउ गरेको हो । धरान १० का देवीप्रसाद भुजेल, भरौल ५ का गोपाल विक, डिल्लीप्रसा पौडेल, राजेश कुमार राई, भरौल ४ का शमशेर लिम्बुले आफू लुटिएको जाहेरी इलाका प्रहरी कार्यालय धरानमा दिएपछि प्रहरीले लुटेराको खोजीलाई व्यापक बनाएको थियो ।

लुटेराले माघ ८ देखि ११ गतेसम्म यी व्यक्तिहरुलाई श्रृंखलाबद्ध ढगले हतियार देखाइ लुटेको पीडितहरुले दिएको जाहेरीमा उल्लेख भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुले यी व्यक्तिहरुबाट ५० हजार नगद, लुटिएका ५ वटा मोवाइल बरामद गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुदमकुमार सिजापतिले जानकारी दिनुभयो । उहाले अन्य ५ जना लुटेरा समेत उनीहरुसंग संलग्न भएकोे अनुसन्धानबाट खुलेकोले उनीहरुको खोजी कार्यलाई तिबता दिएको बताउनुभयो । पक्राउ परेका उनीहरुलाई डाका मुद्धामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको डिएसपी सिजापतिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV