१७ माघ २०७२, आईतवार

दुई बर्षअघि देखि परीक्षणको रुपमा शुरु गरिएको रेन्बो ट्राउट माछा पालन ब्यवसायले लमजुङमा ब्यवसायिक बाटो समाएको छ । राउण्ड अन्नपूर्ण पदमार्गको खुदी–८ अर्खलेबेसीमा साँढे ३ रोपनी जग्गामा ब्यवसायिक ट्राउट माछापालन गरिएको हो । यो ब्यवसाय लमजुङ जिल्लाकै पहिलो हो । अर्खलेबेसीका जीतबहादुर गुरुङ र उनकै सालो मीनप्रसाद घलेले संयुक्त रुपमा माछापालन ब्यवसाय थालेका हुन् । माछापालनका लागि जिल्ला कृषि कार्यालयले ५० हजार रुपैयाँ सहयोग गरेपछि जीतबहादुर र मीनप्रसादले २५ लाख रुपैयाँ लगानी गरेर माछापालन ब्यवसाय शुरु गरेका हुन् । छिमेकी जिल्ला कास्कीको भुर्जुङखोला, सार्दी खोला, त्रिशूलीलगायतका नदी आसपासमा यसको व्यवसाय गरेको र आम्दानीसमेत लगानीअनुरुप भइरहेको पाएपछि आफूले ट्राउट माछापालन सञ्चालन गरेको जितबहादुरले बताउनुभयो । माछाका पारखीलाई अन्य माछाभन्दा भिन्नै किसिमको स्वाद दिएर व्यवसायलाई अघि बढाउने हेतुले ट्राउट माछा पाल्न सुरु गरेको गुरुङको भनाई छ । दुई बर्षअघि परीक्षणको रुपमा पालिएको माछा यस बर्षदेखि राम्रो उत्पादन हुन थालेको माछापालक किसान मीनप्रसादले बताउनुभयो । ब्यवसायिक रुपमा माछा पालेको एक बर्ष मात्रै भयो । उहाँले यो साल तीन क्वीन्टल माछा बेचेको र करीब पाँच क्वीन्टल बढी माछा पोखरीमै रहेको बताउनुभयो ।

परिक्षणको पहिलो बर्षमा एक क्वीन्टल ट्राउट उत्पादन भएको र ४ लाखको आम्दानी गर्न सफल भएको किसान जीतबहादुरको भनाई छ । गत चैतमा रसुवाको धुन्चेस्थित कृषिको माछा भुरा फार्मबाट ३२ हजार भुरा ल्याएर ट्राउट पालन गरेका गुरुङले सोचेभन्दा बढि राम्रो भएको बताउनुभयो । उनिहरुले शुरुमा कास्कीको भुर्जुङखोलाबाट ५ सय माछाका भुरा ल्याएर परीक्षण गरेकोमा सफल भएपछि ब्यवसायिक रुपमै अघि बढेका हुन् । किसान मीनप्रसादका अनुसार अहिले प्रतिकिलो ट्राउट माछा १ हजार २ सय रुपैँयामा बिक्री भइरहेको छ । विगतमा दैनिक १० देखि १५ किलोको हाराहारीमा माछा बिक्रि हुदै आएको र नाकाबन्दीका कारण तथा पदमार्गमा पर्यटकको आगमनमा कमी आएपछि माछा बिक्रिमा पनि कमी आएको छ । डेढसय रुपैयाँ प्रतिकलो पाइने माछाको दाना पनि नाकाबन्दीका कारण बढेर २ सय ५० पुगेको उनिहरुको भनाई छ । पदमार्गमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटक र नजिकै रहेको तातोपानीमा नुहाउनेले माछा उपभोग गर्दै आएका छन् । बेसीशहर, खुदी, भुलभुले साथै उत्तरी लमजुङका आन्तरिक पर्यटकले समेत ट्राउट खोज्ने गरेका किसान जीतबहादुरले बताउनुभयो ।

LIVE TV