१७ माघ २०७२, आईतवार

भीमदत्तनगर,  नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनअन्तर्गत आज हुन गइरहेको नगर सभापतिमा कञ्चनपुरका १९ जना सभापति पदका आकाङ्क्षी देखिएका छन् ।महाधिवेशनको कार्यतालिकाअनुसार शुक्रबारदेखि सुरु भएको गाउँ समिति र नगर वडा निर्वाचन सकिएपछि आजदेखि नगर कमिटीको निर्वाचन हुन गइरहेको हो । कञ्चनपुरका आठवटै नगरपालिकामा निर्वाचनकै माध्यमबाट नगर सभापतिसहित कमिटी चयन हुने अवस्था देखिएको छ ।

congres

यहाँको भीमदत्तनगरपालिकाको नगर सभापतिका लागि प्रेम विष्ट, पदमराज अवस्थी र अच्युत कलौनी सभापतिको प्रतिस्पर्धामा उत्रिएका छन् । त्यस्तै बेदकोट नगरपालिकामा हरि बोहरा र कर्ण देउवाबीच नगर सभापतिका लागि निर्वाचन हुने देखिएको छ । झलारीपिपलाडी नगरपालिकाको नगर सभापतिमा जयबहादुर विष्ट र लोकराज उप्रेती, बेलौरी नगरपालिकामा नेत्र गिरी, केशवराज जोशी र रामलाल राना सभापतिको उम्मेदवारका रुपमा देखिएका छन् भने पुनर्वासमा हरिप्रसाद अधिकारी र एमप्रसाद पौडल देखिएका छन् । त्यसैगरी, यहाँको बेल्डाँडी नगरपालिकामा हर्कदेव जोशी र मदन खत्रीबीच सभापतिमा प्रतिस्पर्धा हुने सम्भावना छ । दोधारा चाँदनी नगरपालिकामा नाथु सिंह साउद, पुष्कर जोशी र डम्बर चन्द चुनावी मैदानमा उत्रिएका छन् । कृष्णपुर नगरपालिकामा बलराम पन्त र भक्त खत्री मैदानमा छन् । सभापतिका साथै नगर कमिटीको अन्य पदमा पनि आज निर्वाचन हुने नेपाली काँग्रेस कञ्चनपुरले जनाएको छ । गाउँ समिति र नगर वडाहरुमा कञ्चनपुरमा निर्वाचित र सर्वसम्मतिबाट सभापति तथा पदाधिकारीहरु, क्षेत्रीय प्रतिनिधिहरु चुनिएका छन् । यहाँ अधिकांश युवा पुस्ता चुनावी मैदानमा पार्टीको तल्लो तहदेखि नै अगाडि आइरहेको देखिएको छ । रासस

LIVE TV