१७ माघ २०७२, आईतवार

बागलुङ, ‘यो सबै हाम्रा बाजे, पुर्खाहरुको गोठ आउने थलो हो, सानो छँदा हामी पनि गाइवस्तु लिएर आउँथ्यौं’ हिस्तान–५ फूलबारीको वर्णन गर्दै होटल व्यवसायी याम पुन स्मरण गर्नुहुन्छ । आज, फूलबारीको परिचय किसान गोठालो जाने लेकमा सीमित छैन । घना जङ्गलको बीचमा अवस्थित फूलबारी पर्यटकीय क्षेत्रमा परिणत भएको छ ।

फूलबारी गेस्ट हाउसका सञ्चालक पुनका अनुसार हिमालहरुलाई ‘पुतली दृश्य’ मा हेर्न पर्यटक फूलबारी आउने गर्छन् । ‘यहाँबाट देखिने दृश्यलाई ‘बटर फ्लाइ भ्यू’ भन्ने गरिन्छ, अन्नपूर्ण–दक्षिणदेखि धवलागिरि हिम श्रृङ्खलाका दर्जनौं चुचुराहरु देख्न सकिन्छ’ – पुनले भन्नुभयो । दुई हजार ८७० मिटरको उचाइमा अवस्थित फूलबारीमा पर्यटकलाई लक्ष्यित गरेर निजी र सामुदायिक लज खुलेका छन् ।

annapurna hml

अन्नपूर्ण पदमार्गमा पर्ने घोरेपानी–पुनहिल र पर्यावरणीय पदमार्गमा पर्ने नागी लगायतका पर्यटकीय गन्तव्यमा पुग्न फूलबारी भएर जाने पदमार्ग प्रयोग गर्न सकिन्छ । हिस्तानको मुख्य मानववस्तीदेखि करिव दुईघण्टा उकालो पदयात्रापछि पुगिने फूलबारी गुराँसे वनका लागि पनि प्रख्यात छ । ‘फागुन–वैशाखमा गुराँस फुल्ने याममा पर्यटक बढी आउने गर्छन्, चारैतिर गुराँसको घना जङ्गल छ’ – होटल व्यवसायी पुनले भन्नुभयो ।

himal anapurna

गुराँस फुल्ने याम र असोज–मङ्सिरमा यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । पदमार्ग बनेपछि र पर्यटन प्रवद्र्धन हुन थालेपछि कुनै समयको अनकन्टार भू–भाग पनि पर्यटन गन्तव्यको रुपमा विकास भएको छ । हिस्तान, फूलबारी, राम्चे जस्ता ग्रामीण क्षेत्रको पर्यटन विकासका लागि सामाजिक अभियन्ता महावीर पुनले ठूलो योगदान गरेको स्थानीय जनता स्मरण गर्छन् । पुनकै पहलमा अन्नपूर्ण–धवलागिरि पर्यावरणीय पदमार्ग बनेको हो । फूलबारी जस्तै म्याग्दीकै घार–१ मा पर्ने घोरेपानी पनि त्यहाँका रैथाने पुन मगरहरुको लेकाली बसोबास क्षेत्र हो ।

पुनहरुको नाममा घोरेपानीमा रहेको अग्लो लेकलाई पछि पुनहिल नामकरण गरियो जुन अहिले विश्वभरका पर्यटकको आकर्षक गन्तव्यको रुपमा विकसित भएको छ । ‘घोरेपानी पनि पहिले–पहिले गाईवस्तु लिएर गोठ गर्न आउने स्थल थियो, पछि अन्नपूर्ण पदमार्गको अवधारणा आएपछि यसको विकास भयो’ – घोरेपानीका स्थानीयवासी टेकसर बुद्धुजा पुनमगरले भन्नुभयो ।

घारकै खाइबाङबाट गएर पुनमगरहरु घोरेपानीमा बसोबास गर्न थालेको उहाँको भनाइ छ । सन् १९७० मा घोरेपानी–पुनहिल क्षेत्र पर्यटकलाई घुम्नका लागि खुल्ला गरिएको हो । हिमश्रृङ्खला, गुराँसे जङ्गल, स्वच्छ पर्यावरण, मगर संस्कृति, रीतिरिवाजले घोरेपानीको पर्यटन प्रवद्र्धनलाई टेवा पुगेको होटल व्यवसायी बताउँछन् । कुनै चर्चा र प्रख्यातिबिनै कुनो परेको गाउँ–गोठ अहिले पर्यटनको केन्द्र बन्दा घोरेपानीको रौनक नै फेरिएको घोरेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष जुनु पुनले बताउनुभयो ।

घोरेपानी बन्नुमा मुख्य श्रेय सरकारले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना सञ्चालन गर्नुलाई दिने गरिएको छ । अन्नपूर्ण पदमार्ग संसारमै प्रसिद्ध बनेपछि त झन् घोरेपानी–पुनहिलको कायापलट नै भएको अध्यक्ष पुनको अनुभव छ । पुनका अनुसार प्रकृति, पर्यावरण र पदयात्रामा रमाउने पर्यटकका लागि यस क्षेत्र उत्कृष्ट गन्तव्य मानिन्छ । ‘पर्यटन विकासका लागि पदमार्गले मुख्य आकर्षण थप्दो रहेछ, नेपाल आउने अधिकांश पर्यटकले पदयात्रा रुचाउने गरेका छन्’ – अध्यक्ष पुनले भन्नुभयो ।

ठूलो स्तरदेखि ग्रामीण पर्यटन विकासका लागि पनि पदमार्ग बनाउनुपर्ने उहाँको सुझाव छ । घोरेपानी जस्ता सम्भावना बोकेका क्षेत्र नेपालमा थुप्रै भएको अध्यक्ष पुनको भनाइ छ । पर्यटक भित्र्याउन पर्यावरण–प्रकृति–कला–संस्कृतिको संरक्षणसँगै पर्यटनमैत्री पूर्वाधारहरुको निर्माणलाई जोड दिइनुपर्ने घारका होटल व्यवसायी खेम सेञ्चुरीे बताउनुहुन्छ । पोखरेबगर–घार–शिख–घोरेपानी पदमार्गको छेउ भएर मोटरबाटो बनेपछि घटेको पर्यटकीय चहलपहलको तीतो यथार्थ पनि उहाँले सुनाउनुभयो ।

उहाँ पनि पदमार्ग बनाएर मात्र पर्यटक तान्न सकिनेमा सहमत हुनुहुन्छ । म्याग्दीको घार, शिख र नारच्याङ गाविस अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाभित्र परेपछि पर्यटकीय गतिविधि ह्वात्तै बढेको स्थानीयवासीको अनुभव छ । संरक्षण क्षेत्रमा अन्नपूर्ण पदमार्ग सञ्चालनमा आएपछि पर्यटक आगमनमा वृद्धि आएको हो । घोरेपानीमा २५ वर्षअघिदेखि पर्यटकीय पूर्वाधार र होटल–लजहरु स्थापना हुन थालेका हुन् । पचास करोड रुपैयाँ भन्दा बढी लागतमा बनेका सुविधासम्पन्न होटलहरु यहाँ सञ्चालनमा छन् ।

नयाँ–नयाँ संरचना थपिने क्रम पनि बढ्दो छ । विभिन्न वैकल्पिक पदमार्गहरु प्रयोग गरेर पुग्न सकिने भएकाले पनि घोरेपानी केन्द्र भागमा छ । पर्यटन व्यवसायी समेत रहनुभएका टेकसर बुद्धुजाका अनुसार कास्कीको बिरेठाँटी–तिखेढुङ्गा–उल्लेरी हुँदै घोरेपानी पुग्न सकिन्छ । त्यस्तै, बिरेठाँटी–घान्द्रुक हुँदै, नागी–मोहरे–फूलबारी हुँदै, तातापानी–शिख–घार हुँदै घोरेपानी पुग्न सकिन्छ । कपितय पर्यटकहरु घोरेपानी–पुनहिल घुमेर घार–तातोपानी–मुस्ताङ हुँदै थोराङ् घाँटी जाने गरेका छन् ।

कोही नयाँ बनेको ‘खोप्रा ट्रेक’ भएर जोमसोम पुग्ने गरेका छन् । त्यस्तै घोरेपानी–पुनहिलको घुमघाम र बसाइँपछि त्यहीँबाट फर्केर घान्दु्रक हुँदै अन्नपूर्ण हिमश्रृङ्खलाको पश्चिमी आधार शिविर जाने गरेको पुनले बताउनुभयो । घोरेपानीबाट पदयात्रा गरेर चार दिनमा आधार शिविर पुग्न सकिने उहाँको भनाइ छ । पदमार्ग नबनेको भए घोरेपानी–पुनहिल सँधै ओझेलमा पर्ने पुनको तर्क छ ।

घोरेपानी होटल व्यवस्थापन समितिले वर्षेनी पदमार्ग निर्माण, मर्मत र स्तरोन्नतिको लागि लाखौं रुपैयाँ खर्च गर्ने गरेको छ । पछिल्लो तीनवर्षमा मात्रै ७० लाख रुपैयाँ खर्चेर घोरेपानी क्षेत्रमा रहेका पदमार्गहरुको मर्मत–सम्भार तथा स्तरोन्नति गरिएको छ । दुई हजार ८७० मिटरको उचाइमा रहेको घोरेपानी र त्यसको माथि तीन हजार २१० मिटरमा रहेको पुनहिल हिमश्रृङ्खला र सूर्योदय अवलोकनका लागि मनमोहक गन्तव्य हो ।

घोरेपानीमा रहेको पर्यटक प्रहरी कार्यालयका अनुसार वर्षमा तीसहजार भन्दा बढी विदेशी पर्यटक घोरेपानी–पुनहिल पुग्दछन् । पुनहिलबाट मनास्लु–अन्नपूर्ण–धवलागिरि हिमश्रृङ्खलाका दर्जनौं चुचुराहरु देख्न सकिन्छ । घोरेपानी–पुनहिलमा शरद् र वसन्त ऋतुमा पर्यटकहरुको आगमन बढी हुने गरेको छ ।

घोरेपानीका पुनमगरहरुकै नामबाट पुनहिल नामकरण गरिएको हो । विसं २०२५ मा मेजर टेकबहादुर पुनले पुनहिल भनी नामकरण गरेको बताइन्छ । यो नामको प्रख्याति अहिले विश्वभर छ । रासस

LIVE TV