१६ माघ २०७२, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै असहमति र गुनासा भए वार्ता र संवादबाटै तिनको समाधान गर्न सकिने भएकाले एक पटक फेरि वार्तामा आउन सम्बद्ध सबै पक्षलाई आह्वान गर्नुभएको छ । उहाँले संविधान संशोधनपछि राजनीतिक असहमतिलाई विभिन्न चरणमा हल गर्ने प्रक्रिया आरम्भ भएको पनि उल्लेख गर्नुभएको छ ।

KP OLI
सहिद दिवसका अवसरमा दिनुभएको सन्देशमा प्रधानमन्त्री ओलीले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लगायतलाई लक्षित गर्दै संविधान जारी हुनुअघिदेखि नै मुलुकमा सिर्जना गरिएका समस्या क्रमशः सम्बोधन हुँदै आएको उल्लेख गर्नुभएको छ । उहाँले दलहरुबीच कुनै असहमति र गुनासा भए वार्ता र संवादबाटै तिनको समाधान गर्न सकिने भएकाले वार्ता र संवादमा आउँन सम्बद्ध सबै पक्षलाई फेरी आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले सन्देशमा एकतन्त्रीय जहानियाँ शासनको अन्याय र अत्याचारबाट नेपालीलाई मुक्ति दिलाई प्रजातन्त्रको स्थापनाका लागि अमर सहिदले आफ्नो प्राणको आहुति दिनुभएको स्मरण गर्नुभएको छ । यस्तै सहिदले देखाएको बाटोमा अघि बढ्ने प्रण गर्न सबै नेपालीलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले बलिदानको उच्च सम्मान र भावनाको कदर गर्दै सहिदको सपनालाई साकार पार्न सरकार प्रयत्नशील रहँदै आएको जनाउनुभएको छ । ०००

LIVE TV