
सिरियाको प्रमुख विपक्षी समूहले स्वीजरल्याण्डको जेनेभा शान्ति वार्तामा सहभागी हुने जनाएको छ । साउदी अरेबियाको साथ पाएको विपक्षीको उच्च स्तरीय वार्ता कमिटि एचएनसीले जेनेभा वार्तामा सामेल हुने जनाएको छ ।
संयुक्त राष्ट्रसंघका पदाधिकारीले स्वीस शहरमा सिरियाको सरकारी वार्ता समितिसँग भेटवार्ता गरिसकेको छ । सरकारी सेनाले गर्दै आएको हवाई आक्रमण रोकेमा मात्रै वार्तामा सहभागी हुने बताउँदै आएको थियो । सिरियाको शान्ति वार्ताका लागि खटिएका संयुक्त राष्ट्रसंघका दूत स्टाफेन डी मिस्टुराले सिरियाली सरकारी अधिकारीसँग छलफल गरेका हुन् । सिरियामा गएको पाँच वर्षदेखि चलिरहेको द्वन्द्वका कारण दुई लाख ५० हजार भन्दा धेरै मानिसको ज्यान गएको छ भने एक करोड १० लाख मानिस विस्थापित भएका छन् ।
सिरियामा राष्ट्रपति बसर अल असदका समर्थक र बिरोधीबिच संघर्ष हुँदै आएको छ । त्यस्तै, बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले पनि त्यहाँ हिंसात्मक गतिविधि गर्दै आएको छ । जेनेभामा हुने वार्तामा सरकारी र विपक्षी समूहका वार्ता टोली छुट्टा छुट्टै कोठामा बस्ने र ती समूहको बिचमा राष्ट्रसंघीय टोली बसेर वार्तालाई सहजिकरण गर्ने तयारी छ । एचएनसीले आफ्ना ३० देखि ३५ जना पदाधिकारी जेनेभा पठाउने तयारी गरेको छ । अमेरिकी विदेशमन्त्री जोन केरीले शुक्रबार एचएनसीका प्रतिनिधिलाई टेलिफोन गरेर वार्तामा सहभागी हुन आग्रह गरेका थिए ।