१६ माघ २०७२, शनिबार

बर्दिवास। नाति पढ्ने विद्यालयले आपूmलाई जाडो छल्ने कम्बल दिएपछि महोत्तरी जिल्लाको परिकौलीफुलहट्टा–३ को दलित बस्तीकी मालतीदेबी दास फुरुङ्ग परेकी छन् । गरिबीले गर्दा नाति ९छोराको छोरा० बादल दासको विद्यालय शुल्क बुझाउन नसकेकै बेला उसकै विद्यालयले बोलाएर आज कम्बल दिएपछि मालतीको खुसी बढेको हो ।

blanket

आफ्नै बस्तीको परिकौलीचोकस्थित नाति पढ्ने शान्ति निकेतन विद्यालयबाट ‘एकछिन आइदिन प¥यो’ भन्ने फोन आउँदा शुल्कको ताकेता होला भनेर झस्केकी मालती विद्यालय पुग्दा प्राचार्य विजयकुमार साहले जाडोमा ओढ्ने कम्बल दिएपछि खुसीले दङ्ग परिन् । ‘नातिको पढाइ शुल्कका लागि ताकेता होला भन्ने ठानेकी थिएँ,’ मालतीले भनिन् – ‘तर, विद्यालयका प्राचार्यले त गरिब भएर पनि नाति पढाउन दिलोज्यानले लाग्नु भएको भन्दै कम्बल पो दिनुभयो ।’ गरिबीसँग पौंठेजोरी खेल्दै नातिको पढाइ भने नरोक्ने प्रतिबद्धता विद्यालय प्रशासनसँग जनाएकी मालती आफैंंले बताइन् ।

विद्यालयबाट कम्बल पाउने अभिभावकमा मालती एक्ली भने होइनन् । शान्ति निकेतन बिद्यालयले आज आफ्ना विद्यालयमा अध्ययनरत गरिबीले घरगुजारा चलाउन धौैधौ परेका छात्रछात्राका १०० दलित समुदायका अभिभावकलाई कम्बल बितरण गरेको छ । आफ्ना दुई छोरा ९रबि र सोनु० अध्ययन गरिरहेका विद्यालयले सम्मानपूर्वक बोलाएर नानीहरुको पढाइमा ध्यान दिन आग्रह गर्दै कम्बल उपहार दिएको पिगौना–९ को दलित बस्तीका बिल्टु खत्बेले बताए ।
जिल्लाका गरिब र दलित बस्तीमा शिक्षाप्रति जागरुकता बढाउन अभिभावकहरुको सम्मान गरिने प्रकृयाको थालनीका लागि त्यस्ता परिवारका अभिभावकलाई कम्बल प्रदान गरिएको बिद्यालयले जनाएको छ । कम्बल प्रदान कार्यक्रममा उपस्थित दलित समुदायका अभिभावकले गरिबी र अभावका बीच पनि नानीहरुलाई पढ्न पठाउने प्रतिबद्धता जनाएपछि शिक्षाबारे चासो बढाउन यो कार्यक्रम सहयोगी बनेको विद्यालयका प्राचार्य विजयकुमार साहको ठम्याइ छ ।

जिल्ला सदरमुकाम जलेश्वरबाट चार किलोमीटरको टाढा पर्ने यो विद्यालयमा परिकौली, पिगौना, महोत्तरी र इकरहिया गाविस बस्तीका ४०० नानीहरु पठनपाठन गर्छन् ।

खासगरी दलित समुदायका नानीहरुको पढ्न विद्यालय आउन थालेका केही समयपछि नै रोकिने गरेकाले तिनको पढाइ चालु राख्न वर्षेनी रचनात्मक कार्यक्रम आयोजना गर्ने गरिएको विद्यालयले जनाएको छ । ‘बितेका वर्षहरुमा विद्यालयले दलित समुदायका मेधावी छात्रछात्रालाई पुरस्कृत गर्दै आएको थियो,’ प्राचार्य साहले भने – ‘यसपालि चैं सम्मानका लागि अभिभावकलाई छान्यौं ।’ गाउँघरमा पढेर राम्रो अवसर पाएका दलित समुदायकै युवालाई उदाहरणमा देखाइएपछि पछिल्ला वर्षहरुमा यो समुदायमा पनि शिक्षाप्रति सकारात्मक चासो बढेको शिक्षकले बताएका छन् ।

कम्बल वितरण कार्यक्रममा सहभागी भई सम्मान प्राप्त गरेका परिकौली–५ को दलित बस्तीका विनोद महराले विद्यालयले दलितहरुकै हितका लागि यस्तो कार्यक्रम गरेको भन्ने पनि बुझेका रहेछन् । ‘हाम्रा छोराछोरी पढून्, उनीहरुको पढाइ नटुटोस् भनेर नै विद्यालयले हामीलाई सम्झाउन यस्ता कार्यक्रम आयोजन गर्ने गरेको हो,’ महराले भने – ‘समाजमा अब दलितहरुप्रति हेरिने नजर फेरिएको छ । हामी दुःख खेपेरै भएपनि नानीहरु पढाउँछौं ।’ एकअर्कोको देखासिकीबाटै अहिले आफ्ना बस्तीका नानीहरु विद्यालय जान लागेका महराको भनाइ छ ।
पछिल्लो १० वर्षदेखि निम्नमाध्यमिक तहसम्मको पठनपाठन गर्दै आएको विद्यालयमा अहिले अन्य जाति र समुदायका बाहेक १०० दलित परिवारका १५० छात्रछात्रा अध्ययनरत रहेका छन् । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV