
काठमाडौं । वीरगञ्ज नाकामा अवरोध कायमै रहे पनि मुलुकको प्रमुखस्थल नाका वीरगन्जबाट मालसामान आयात हुन थालेको छ। पुलमा जारी धर्नास्थलमा बसेका आन्दोलनकारीकै अगाडिबाट पुल मुनिको बाटो प्रयोग गरी आयातकर्ताले सीमापारि रक्सौलबाट ठेला तथा टायरगाडामा मालसामान ओसारिरहेका छन् ।
सीमापारि रोकिएका मालसामान टायरगाडामा आउन थालेपछि वीरगन्ज भन्सार कार्यालयले राजस्व असुली गर्न थालेको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
झण्डै तीन महिना राजस्व संकलन शून्य रहेको कार्यालयले एक साता यता दैनिक ३० लाख भन्दा बढी राजस्व संकलन गर्न थालेको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सुशीलप्रसाद शर्माले जानकारी दिए ।
टायरगाडाको प्रयोग गरी औद्योगिक कच्चा पदार्थ तथा अन्य मालसामान आउन थालेपछि वीरगन्ज क्षेत्रमा रहेका उद्योग तथा व्यवसाय आंशिक रुपमा सन्चालन हुन थालेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले बताए ।