
प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दीका कारण विकास निर्माणका काममा अप्ठ्यारो परिरहेको स्वीकार गर्नुभएको छ । भारतीय नाकाबन्दी चाँडै अन्त्य भई जनजीवन सामान्य बन्ने उहाँको दावी छ । राजधानीको भृकुटीमण्डपमा शुक्रवारवाट शुरु सूचना प्रविधि मेला क्यान इन्फोटेकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले धामीले भूत भगाउन प्रयोग गरेको खरानीको धुलो उडे जस्तै नाकाबन्दी अन्त्य हुने बताउँनुभयो । नाकाबन्दीले दुई मुलुकबीचको सम्वन्धमा गतिरोध आउनुका साथै जनताले अनावश्यक कष्ट भोग्नु परेको उहाँको भनाई छ । सरकार विकासका मुद्यालाई तीव्ररुपमा अगाडी बढाउन व्यावहारिक ढङ्गवाट अगाडि बढेको जानकारी दिँदै अव कुनै पनि वहानामा समृद्धिको यात्रा नरोकिने दावी पनि प्रधानमन्त्री ओलीले गर्नुभयो । अनावश्यक आन्दोलनले मुलुकलाई कमजोर बनाउने भन्दै प्रधानमन्त्री ओलीले यसवाट कसैको पनि हित नहुने धारणा राख्नुभयो । प्रतिपक्षले पनि सरकारका राम्रा काममा साथ दिए मुलुक र जनताले वाहवाही गर्ने उँहाको भनाई थियो ।