
पश्चिम नेपालको आदिवासी थारु समुदायमा हँसिया रक्त कोष रोग अर्थात ’सिकल सेल डिजिज’ भनिने रक्तअल्पता वंशानुगतरूपमा सर्दै आएको पाइएको छ । सिकिस्त बिरामी नहुँदासम्म चिकित्सकलाई नभेट्ने र रोगै नखुट्याई औषधि गर्ने प्रवृत्तिले गर्दा सिकल सेल रक्तअल्पताका धेरै बिरामीले ज्यान समेत गुमाइसकेका छन् । सिकलसेल एनिमिया बंशानुगत रक्त रोग हो । यो रोग बुबा आमाबाट बच्चामा वंशानुगत रुपमै सर्ने गर्दछ । सिकलसेल एनिमिया भएको बेला रातो रक्तकोषहरु सामान्यतया गोलो आकारको हुनुको साटो हँसिया जस्तो हुने र कडा हुनाले रक्तकोषहरु शरीरमा सजिलोसंग बग्न नसकी रक्त संचारमा आवरोध पुर्याउँछ र बिभिन्न स्वास्थ्य समस्याहरु देखापर्छ । विज्ञहरूका अनुसार, सिकल सेल एनिमिया नेपालको मुख्यतः थारू समुदायमा पाइने गरेको छ । २०६८ सालको जनगणना अनुसार, मुलुकमा थारू समुदायको जनसंख्या १७ लाख ३७ हजार ४ सय ७० छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आँकलन अनुसार, विश्वभरिमा करिब पाँच प्रतिशत व्यक्ति सिकल सेल रोगको जीनका वाहक हुने गरेका छन् । यस्तै वषेनी तीन लाख बालबालिकाको जन्म हेमोग्लोबिन सम्बन्धी कडा असामान्यतासहित हुने गरेको छ । यसको परीक्षण रोगको संक्रमण धेरै देखिएको क्षेत्र सुदूर र मध्यपश्चिमका अस्पतालमा विशेषज्ञको अभावमा उपचार सेवा उपलब्ध छैन । अझ पहिले पहिले त स्वयम् चिकित्सकहरुमा समेत यो रोग सम्बन्धी पर्याप्त ज्ञान नहुँदा अर्कै रोगको आंशकामा गलत औषधी दिदा विरामीहरुको मृत्यु समेत हुने गरेको रोग नियन्त्रण तथा इपिडियोमियोलोजी कार्यालयका प्रमुख डा बाबुराम मरासिनीले बताउँनुभयो । तर अहिले भने यो रोगको पहिचान भैसकेकोले चिकित्सकहरुलाई आवश्यक तालिम प्रदान गर्न सरकारले नै हरेक वर्ष वजेटको व्यवस्था गर्दै आएको उहाँले बताउँनुभयो । ’यो रोग पत्ता लगाउन सिकलिङ टेस्टबाट स्किनिङ गरी हेमोग्लोबिन इलेक्ट्रोफोरेसिस जाँच गर्नुपर्छ ।’ यस्तो परीक्षण गर्ने मेसिन हाललाई भने काठमाडौंमा मात्र उपलब्ध रहेको डा मरासिनीले बताउँनुभयो । आदिवासी अफ्रिकी मूलका बासिन्दामा बढी देखिने भनिएको यो रोगका विरामीहरु दक्षिण एसियाका अरू मुलुकमा पनि पाइएको छ । । अमेरिकामा केही दशक पहिलेसम्म पनि सिकल सेलका कारण यसबाट संक्रमितहरूको औसत ४२ वर्षमै मृत्यु हुने गरेको तथ्यांक छ । रगतका कोशिकाहरू ’सिकल’ अर्थात् ’हँसिया’ आकारका हुँदै रक्त प्रवाहमा असर पार्ने हुनाले यसलाई सिकल सेल भनिएको हो । सामान्यतः रक्त कोशिकाको आकार बाटुलो हुन्छ । यस्तै, संक्रमितहरूमा लाग्ने अरू रोगका लक्षणसँग मिल्दोजुल्दो हुने भएकाले यसको प्रायः गलत उपचार भएको र बिरामीको ज्यानैसमेत जाने गरेको पाइएको छ त्यसले गर्दा आम नागरिकमा रोगबारे जनचेतनाको खाँचो देखिन्छ । थारु समुदायका तर्फबाट यो रोगको उपचारको माग गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापनपत्र समेत बुझाइएको छ ।