१५ माघ २०७२, शुक्रबार

लामाबगरको स्यालुबाट भूकम्पपछि एकसाथ सात बालबालिका गायब भए । तिब्बती सीमा नजिकको उक्त गाउँमा सोधीखोजी गर्दै जाँदा आफ्ना सन्तानलाई आमाहरूले नै लामा पढाउन काठमाडौं र भारतीय सीमा क्षेत्रमा पुर्‍याएर कसैको जिम्मा लगाएको खुल्यो ।

bhukam

फकाएर लाने र भारत पुर्‍याउनेहरूको परिचय खुलेको छैन । ‘प्रहरीले सोधपुछ गर्दा ढाँटीढाँटी लग्यौं । चिनेकै मान्छेसँग गएकाले ढुक्कसँग लामाको भेषमा आएका गुरुलाई छोरा जिम्मा लगायौं,’ स्थानीय लक्ष्मी तामाङले भनिन् । उक्त गाउँबाट गत असोज २४ देखि बेपत्ता बालबालिका अझै गाउँ फर्किएका छैनन् । स्यालु र आसपासका गाउँबाट धमाधम गायब भइरहेका छन् ।

भूकम्पपछि उत्पन्न जीवनयापनको समस्याको फाइदा उठाउँदै अनधिकृत रूपमा बालबालिकाको ओसारपसार बढेको स्थानीय अगुवाहरूको भनाइ छ । अभिभावकको समेत सहमति रहेकाले उक्त अवैध गतिविधि रोक्न नसकिएको गोगरेश्वर प्राविका शिक्षक हिरण्यबहादुर घिसिङले बताए । ‘यस क्षेत्रका गाविसबाट भूकम्पपछि पढाइदिने प्रलोभनमा २०/२५ बालबालिका लगिसके,’ उनले भने, ‘रोक्ने प्रयास सफल भएको छैन ।’ त्यसको असर स्थानीय विद्यालयका कक्षाकोठामा देखिन थालेको छ । बालबालिकालाई विदेशी भूमिमा पुर्‍याउन स्थानीय प्रशासनको सिफारिसमा अध्यागमन विभागको स्वीकृति अनिवार्य छ । दोलखा प्रशासनले भूकम्पयता अध्ययनका लागि जिल्ला बाहिर लान कसैलाई सिफारिस दिएको छैन । ‘बिनास्वीकृति बालबालिका अन्यत्र लानु गैरकानुनी हो,’ प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भने ।

लामा पढाउने बताउँदै भारत पुर्‍याइएका बालबालिका तीन वर्षपछि फर्किने आश्वासन अभिभावकले पाएका छन् । आफ्ना सन्तानलाई भारतको कुन ठाउँमा पुर्‍याइएको छ भन्ने जानकारी भने उनीहरूलाई छैन । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

 

LIVE TV