१५ माघ २०७२, शुक्रबार

काठमाडौँ। सरकारले पत्रकार आचारसंहिता कडाइका साथ कार्यान्वयन गराउने भएको छ । बाल संवेदनशील पत्रकार निर्देशिकाको मस्यौदाका लागि सुझाव सङ्कलन गर्न राजधानीमा आज आयोजित राष्ट्रिय अन्तरक्रियामा उपप्रधान एवम् महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनाली र सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गराइने वचनबद्धता प्रकट गर्नुभयो ।

journalist

उपप्रधानमन्त्री मैनालीले नयाँ संविधानसँगै पत्रकारिता क्षेत्रलाई पनि सोही ढङ्गले अगाडि बढाउन आवश्यक आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गराउन मन्त्रालयका तर्फबाट पर्याप्त गृहकार्य र सहयोग हुने बताउनुभयो । उहाँले आचारसंहिताले पत्रकारितालाई विश्वसनीय, परिपक्व र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चार मन्त्री राईले आफूले अहिलेसम्म बुझेअनुसार नेपालमा पत्रकार आचारसंहिताको कार्यान्वयन नाजुक अवस्थामा रहेको बताउनुभयो । आचारसंहिताको नियमन र कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रेस काउन्सिलको क्षमता वृद्धि गर्न लागिएको बताउँदै उहाँले भन्नुभयो, “बिहीबारको मन्त्रिपरिषद्को बैठकले काउन्सिललाई रु एक करोड ४० लाख विशेष बजेटको व्यवस्था गरेको छ । अब आचारसंहिता कार्यान्वयन भए नभएको कडाइका साथ अनुगमन हुन्छ । कार्यान्वयनका लागि के गर्नु पर्ने हो, त्यो गरिन्छ ।”

उहाँले नयाँ संविधानअनुसार पत्रकारितासम्बन्धी सबै नियम, कानुन र आचारसंहितालाई पुनरवलोकन गर्न मन्त्रालयले तयारी सुरु गरिसकेको पनि जानकारी दिनुभयो । पत्रकारितालाई मर्यादित, प्रभावकारी र जवाफदेही बनाउने चाहना सरकारको रहेको मन्त्री राईको भनाइ छ ।

कार्यक्रममा आचारसंहिता बनाउन गठित समितिका सदस्य तथा पत्रकार कुन्दन अर्यालले एक वर्षसम्म गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रमबाट अहिलेको मस्यौदा तयार पारिएको जानकारी दिनुभयो ।

एघारबुँदे निर्देशिकामाथि पत्रकार बबिता बस्नेत, सुमन खरेल, प्रकाश रिमाललगायतले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइराला, केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल, पत्रकार हस्त गुरुङ, ध्रुवहरि अधिकारीलगायतले निर्देशिकाका आ–आफ्नो धारणा राख्नुभएको थियो । रासस

 

LIVE TV