१५ माघ २०७२, शुक्रबार

मोबाइल सेवाप्रदायक कम्पनीले ‘मोबाइल नम्बर नदेखिने’ (कलर आइडी हाइड) सुविधा हटाएका छन् । फोन गर्दा नम्बर नदेखिने सुविधाले आपराधिक क्रियाकलाप बढाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसलाई रोक्न निर्देशन दिएपछि सेवाप्रदायकले सुविधा हटाएका हुन् । अख्तियारको निर्देशनपछि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाप्रदायकलाई ‘कलर आइडी हाइड’ सुविधा हटाउन भन्दै बुधबार पत्राचार गरेको थियो ।

telephone

प्राधिकरणको पत्राचारपछि दुवै सेवा प्रदायकले त्यस्तो सुविधा हटाएका हुन् । अख्तियारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्री, गृहमन्त्री र सूचना तथा सञ्चारमन्त्रीलाई मात्रै कलर आइडी हाइड सुविधा (नम्बर नआउने) सुविधा दिन निर्देशन दिएको थियो । तोकिएका यी भिआइपीका मोबाइलबाट फोन गर्दा फोन जाने मोबाइल (रिसिभर) मा नम्बर देखिँदैन ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले अब फोन गर्दा नम्बर नदेखिने सुविधा उपलब्ध नहुने बताए । ‘टेलिकमले कलर आइडी हाइड हुने सविधा हटाइसकेको छ,’ उनले भने, ‘अब तोकिएका भिआइपीबाहेक अन्यले यस्तो सुविधा पाउनेछैनन् । एनसेलले पनि कलर आइडी हाइड हुने सविधा हटाउन सुरु गरेको एनसेलका कर्पोरेट कम्युनिकेसनविज्ञ मिलनमणि शर्माले जानकारी दिए ।

‘प्राधिकरणले एनसेललाई त्यस्तो सुविधा हटाउन भन्दै बुधबार पत्र पठाएको थियो,’ उनले भने, ‘बिहीबारदेखि नै हामीले सुविधा हटाएका छौँ । अब प्राधिकरणले तोकेका भिआइपीबाहेकलाई कलर आइडी हाइड हुने सविधा दिइनेछैन ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV