१५ माघ २०७२, शुक्रबार

कांग्रेसको १३ औं महाधिवेशन शुक्रबारदेखि देशभर एकसाथ सुरु हुँदैछ । गाउँ, नगर वडा र नगर अधिवेशन देशभर एकैदिन हुन लागेको हो । पार्टीको केन्द्रीय नेतृत्व छनोटमा समेत प्रभाव पार्ने भएकाले संस्थापन पक्ष र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीच गाउँ तहदेखि नै प्रतिस्पर्धा सुरु भएको छ ।

संस्थापन पक्षभित्र सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेल दुवै प्रतिस्पर्धाको तयारीमा छन् । कोइरालाले सार्वजनिक नगरेपनि उम्मेदवारी दिने भित्री तयारी गरीरहेका छन् । उपसभापति पौडेलले एक महिनाअघिदेखि नै आफ्नो उम्मेदवारी सार्वजनिक गरी प्रचारमा जुटीसकेका छन । नेतृत्वका लागि कोइराला र पौडेल दुवैको प्रतिस्पर्धाले संस्थापन पक्षीय सदस्यहरु स्थानीय तहको अधिवेशनमा अलमलमा परेका छन् । स्थानीय तहमा कोइराला र पौडेल आ(आफ्नो पक्षीय प्रतिनिधि ल्याउनेमा भिडेका छन । आफ्ना पक्षीय प्रतिनिधि बढी ल्याउन सकेमा कोइरालालाई उम्मेदवारी दिनबाट रोक्न दबाव दिन सकिने योजनामा पौडेल छन् । कोइराला पनि पौडेललाई स्थानीय तहबाट कमजोर बनाउने रणनीतिमा लागेको देखिन्छन् । जसका कारण पौडेललाई ‘ब्याक’ गराउन सकिने उनको रणनीति छ ।

kangreshflag

संस्थापन पक्षभित्र चर्केको नेतृत्वको होडबाजीको फाइदा भने देउवा पक्षले लिने सम्भावना छ । देउवा पक्षीय सदस्यहरु पार्टीको भावी नेतृत्वलाई केन्द्रमा राखेर स्थानीय तहदेखि नै आ-आफ्ना समूहका प्रतिनिधि छनोट गर्न देशभर एकजुटका साथ लागेका छन । स्थानीय अधिवेशनमा प्रभाव पार्नका लागि केन्द्रीय तहका नेताहरु समेत गृह जिल्ला पुगेका छन् ।

गाउँ, नगर वडा र नगर अधिवेशनले क्षेत्रीय प्रतिनिधि छनोट गर्छ । प्रतिनिधि छनोटका लागि देशभर ४ लाख ७० हजार क्रियाशील सदस्यले शुक्रबारको मतदानमा भाग लिदैछन् । विशेष कारणबश शुक्रबार अधिवेशन हुन नसकेका ठाउँमा शनिबार गर्न सकिने निर्वाचन समितिले जनाएको छ ।  निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार निर्वाचनका लागि देशभरनै प्रतिनिधि पुगीसकेका छन् । ‘एकैसाथ देशभरनै शान्तिपुर्ण रुपमा निर्वाचन सुरु हुनेमा हामी विश्वस्त छौ’ घिमिरेले भने,‘अहिले सम्म कुनैपनि ठाउँमा अप्रिय अवस्था आएको छैन ।’

गाउँ, नगर वडा र नगर अधिवेशनबाट निर्वाचित भएर आउने प्रतिनिधिले माघ २२ गते हुने क्षेत्रीय (निर्वाचन क्षेत्र स्तर) अधिवेशनमा महाधिवेशन प्रतिनिधि छनोट गर्छन । तीनै महाधिवेशन प्रतिनिधि नै केन्द्रीय महाधिवेशनका मतदाता हुन ।   केन्द्रीय कार्यसमितिको निर्वाचनमा एक निर्वाचन क्षेत्रबाट १२ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भई आउनेछन् । निर्वाचन क्षेत्र, भातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट समेत गर्दा झन्डै ३२ सय प्रतिनिधिले महाधिवेशनमा भाग लिदैछन् ।

विदेशस्थित जनसम्पर्क समितिले पनि महाधिवेशन प्रतिनिधि छनोट प्रकृया सुरु गरिसकेका छन् । जिल्ला अधिवेशन माघ २५ गते र केन्द्रीय महाधिवेशन फागुन २० देखि २३ सम्म राजधानीमा हुनेछ ।

तराई मधेसमा अवरोधको प्रयास
आन्दोलनरत मधेसी मोर्चाको प्रभाव क्षेत्र रहेका तराईका ८ जिल्लाका केही स्थानमा कांग्रेसको अधिवेशनलाई अवरोध गर्ने प्रयास मोर्चाका कार्यकर्ताहरुले गरिरहेका छन । कांग्रेस नेता विमलेन्द्र निधिको नेतृत्वमा अधिवेशनलाई अवरोध नगर्न मोर्चाका नेतृत्वसँग राजधानीमा पटक-पटक छलफल भइरहेको छ ।

मोर्चाका नेताहरुको अवरोधका कारण त्यस क्षेत्रका केन्द्रीय सदस्य सांसदहरु समेत आफ्नो निर्वाचन क्षेत्रमा समयमा जान सकेका छैनन् । केही केन्द्रीय सदस्य र सांसदहरु विहिबार गएका छन् । अधिकांश अझै पर्ख र हेरको नीतिमा राजधानीमा छन् । संविधानसभाको दोस्रो निर्वाचनमा कांग्रेसकै उम्मेदवारबाट मोर्चाका अधिकांश नेताहरु पराजित भएका कारण कांग्रेस अधिवेशनलाई अवरोध गर्ने प्रयास भइरहेको  एक नेताले बताए । कांग्रेस नेता निधिले महाधिवेशन गर्न पाउनु सम्वैधानिक अधिकार भएकाले मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई अवरोध नगर्न अनुरोध गरेका छन् ।

कांग्रेसकै अगुवाईमा मधेस आन्दोलनमा उठेका मागलाई सम्वोधन गर्ने काम भएको र बाँकी रहेका मुद्दालाई सम्वोधन गर्न समेत कांग्रेसले अग्रसरता लिने भन्दै अधिवेशनको प्रकृयालाई सदभावपुर्ण रुपमा सम्पन्न गर्न सहयोग गरिदिन नेतृत्व तहसंग समेत आग्रह गर्दै आएका छन् । ‘सवै ठाउँमा एकैचोटी अधिवेशन हुन्छ । मधेसमा पनि अधिवेशन सुरु हुन्छ । कसैको अवरोध हुँदैन भन्ने हाम्रो विश्वास छ’ निधिले भने,‘मधेसका  सवै सांसद र केन्द्रीय सदस्यहरु आ-आफ्नो निर्वाचन क्षेत्रमा जाने क्रम सुरु भईसकेको छ ।’ – कान्तिपुर दैनिक kangreshflag

 

 

LIVE TV